वीरमा मिर्गाैला प्रत्यारोपण रोकियो
शिक्षाखबर डेस्क
२६ बैशाख २०७६, बिहीबार
no immg

काठमाडौँ / औषधि अभावका कारण वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण रोकिएको छ । अस्पतालले अंग प्रत्यारोपण गर्दा प्रयोग हुने मुख्य औषधि (एटीजी) खरिद गर्न नसक्दा पाँच महिनादेखि मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विशेषज्ञका अनुसार एटीजी औषधि बिरामीको अंग प्रत्यारोपण गर्नुअघि र गरेपछि प्रयोग गरिन्छ ।

वीरमा दस वर्षअघि सुरु भएको मिर्गौला प्रत्यारोपण विभिन्न समस्याका कारण बेला-बेला रोकिने गरेको थियो । चार वर्षअघिको भूकम्पले अस्पतालको भवन भत्कियो र ७ बेडको यो विभाग २ बेडमा खुम्चियो । भौतिक पूर्वाधार र जनशक्ति अभावपछि अस्पतालले सातामा एक पटक मिर्गौला प्रत्यारोपण गर्ने गरेको थियो । अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार प्रत्यारोपणका लागि शल्यकक्ष र शल्यचिकित्सक दुवैको अभावले यो सेवा अघि बढन सकेको छैन ।

अस्पतालमा अहिले मिर्गौला शल्यचिकित्सकको दरबन्दी भए पनि त्यसमा चिकित्सक छैनन् । सेञ्चुरी भन्छन्, ‘तालिमप्राप्त जनशक्ति छन्, प्रत्यारोपणकै विशेषज्ञ छैनन् । नर्सिङ कर्मचारी र अन्य स्वास्थ्य कर्मचारी पनि न्यून छन् ।’ औषधि उपलब्ध भएमा थोरै बिरामीलाई भए पनि प्रत्यारोपण सेवा दिन सकिने बताउँदै उनले थपे, ‘महँगो औषधि भएकाले कोटेसनमा किन्न सम्भव छैन । टेन्डर गर्नुपर्ने भएकाले लामो समयसम्म सेवा अवरुद्ध भएको हो ।’ सेवा रोकिएसँगै प्रत्यारोपण युनिटका कर्मचारीलाई अन्य विभागमा खटाइएको छ ।

पछिल्लो एक दशकदेखि हालसम्म अस्पतालबाट १ सय ४६ जनाको मिर्गौला प्रत्यारोपण भएको छ । प्रत्यारोपण सेवाका लागि दिनहुँ बिरामी आए पनि अन्य अस्पतालमा रिफर भइरहेका छन् । प्रत्यारोपणका लागि अन्य अस्पतालमा पनि पालो नपाएपछि वीरमा अहिले १० बिरामी सेवा कुरिरहेका छन् ।

यो औषधि खरिदमा कमिसन नआउने भएकाले बेवास्ता गरिएको कर्मचारी स्रोत बताउँछन् । ‘कमिसन आउने खालका सामान रातारात किन्छन्, फाइदा नहुने सामान किन्दै किन्दैनन्’, स्रोतको दाबी छ । इकाइले वर्षभरि पुग्ने औषधि व्यवस्थापन गर्न नसक्दा सेवा अवरुद्ध हुने गरेको उनीहरू बताउँछन् ।

अस्पतालको खरिद इकाइ प्रमुख भगवती थपलियाका अनुसार अघिल्लो वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स) का पदाधिकारी नभएका कारण औषधि खरिद गर्न सकिएको थिएन । उनी भन्छिन्, ‘हामीले टेन्डर प्रक्रिया पहिल्यै तयार गरेका थियौं । निमित्त पदाधिकारीलाई आर्थिक अधिकार धेरै नभएकाले टेन्डर प्रक्रिया अल्झेको थियो ।’ टेन्डर प्रक्रिया अघि बढिसकेकाले चाँडै नै प्रत्यारोपण सेवा सुरु गरिने उनले बताइन् ।

मिर्गौला प्रत्यारोपणसम्बन्धी निर्देशिका-२०७४ अनुसार मिर्गौला प्रत्यारोपणका लागि सरकारले एक जना बिरामी बराबर ४ लाख ५० हजार रकम दिने व्यवस्था गरेको छ । बिरामी र मिर्गौला दान गर्ने व्यक्तिलाई भने प्रत्यारोपणपछि औषधि उपचारका लागि थप डेढ लाख रुपैयाँ पनि सरकारले दिने गरेको छ । यस्तो व्यवस्था भएसँगै बिरामी प्रत्यारोपणतर्फ आकषिर्त भएका छन् ।

सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि तोकेका केन्द्रमा समस्या आइरहेका कारण बिरामी मर्कामा पर्ने गरेका छन् । निःशुल्क प्रत्यारोपणका सरकारले नेपालभर तीन अस्पताल तोकेको छ । वीर अस्पताल, सहिदभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङ । तीनै केन्द्रबाट बिरामीको चापअनुसार सेवा दिन सकिएको छैन ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा प्रतिदस हजारमध्ये एक जनाको मिर्गौला फेल हुने गरेको छ । यसअनुसार नेपालमा बर्सेनि तीन हजार व्यक्तिको मिर्गौला फेल हुन्छ । यस्ता बिरामीलाई उपचारको दुई विकल्प छ- डाइलासिस गर्ने र मिर्गौला प्रत्यारोपण गर्ने । नेपालमा दुवै सेवा प्रभावकारी नहुँदा बिरामीले दुःख पाइरहेका छन् ।

प्रतिक्रिया