भूकम्पमा भत्किएका पाँच विद्यालय हस्तान्तरण
शिक्षाखबर डेस्क
२६ बैशाख २०७६, बिहीबार
no immg

दोलखा / भूकम्पमा भत्किएका दोलखाका पाँच विद्यालय पुनर्निर्माण गरी हस्तान्तरण गरिएका छन् । एसियाली विकास बैंकले निर्र्माणको जिम्मा लिएका ३३ मध्ये पाँच विद्यालय हस्तान्तरण गरिएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का अनुसार सुरीस्थित हलेश्वर मावि, मार्बुस्थित हिमवर्ती मावि, नाम्दुस्थित बैतेश्वर मावि, जुँगुस्थित नीलकण्ठेश्वर मावि र जफेस्थित सीतापाइला माविको भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको हो ।

पहिलो चरणमा पुनर्निर्माण भइरहेका २१ विद्यालय भवन अन्तिम चरणमा पुगेको इन्जिनियर सरोज महतोले बताए । ‘दुई–चारबाहेक सबै भवन तोकिएको समयमै सम्पन्न हुने छन्,’ उनले भने । एसियाली विकास बैंकले यहाँका ३३ वटा विद्यालय भवन पुनर्निर्माण गर्न एक अर्ब ७५ करोड २६ लाख लगानी गरेको छ । पहिलो चरणमा २१ भवन निर्माण भइरहेका छन् भने दोस्रो चरणमा १२ भवन निर्माण गरिनेछन् ।

विद्यालय भवनसँगै विद्युत्को वैकल्पिक व्यवस्थाका लागि सोलार प्यानल जडान गरिएको छ । त्यस्तै, अपांगमैत्री शौचालय पनि बनाइएका छन् । कक्षाकोठा पनि अपांगमैत्री र बालमैत्री बनाइएको छ ।

प्रतिक्रिया