जनकपुर / विदेह नगरपालिका प्रमुख र स्थानीय विद्यालयका प्रधानाध्यापकबीचको विवादले बालबालिकाको पठनपाठन प्रभावित भएको छ । विदेहको गिद्धा बेलापटीस्थित जनता नमुना माविको पठनपाठन प्रभावित भएको हो ।
यतिबेला विद्यालयमा पठनपाठन नभएपछि अधिकांश शिक्षक हाजिर गरेर घर फर्किन्छन् । विद्यालयको खाता रोक्का रहेकाले शिक्षक कर्मचारीले तलब पाएका छैनन् । विद्यार्थी र अभिभावक दुई समूहमा विभाजित भएपछि विद्यालय नजिकैको तिनकौरिया चोक दैनिक तनावग्रस्त छ ।
विद्यालय सञ्चालन हुने बित्तिकै प्रधानाध्यापक पवनकुमार मण्डल समर्थक विद्यार्थीको समूहले विदेह नगरपालिकाका मेयर बेचन दासको विरोधमा नाराबाजी गर्दै तिनकौरियाचोकमा टायर बालेका थिए । आन्दोलनरत विद्यार्थीले मेयर दासलाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमापाठ्यपुस्तकको रकम उपलब्ध गराउनु पर्ने, प्राविधिक धारका विद्यार्थीलाई दिइने छात्रवृति र काज सरुवा गरिएका प्रधानाध्यापक पवनकुमार मण्डलको थमौतीको माग गरेका छन् ।
अर्कोतर्फ मेयर बेचन दास समर्थक अभिभावक तथा स्थानीयवासी मेयर दासको समर्थनमा तथा प्रअ मण्डलको विरोधमा प्रदर्शन गरेका थिए । उनीहरूले नियमित पठनपाठन गराउन माग गर्दै प्रअ मण्डलमाथि कारबाहीको माग गरेका छन् । तिनकौरिया चोकबाट सुरु भएको प्रदर्शन विद्यालय परिसर हुँदै पुनः तिनकौरिया चोकमा पुगेर सम्पन्न भएको थियो । यस बीचमा दुवै पक्षका अभिभावकबीच पटक–पटक झडपको स्थिति सृजना भएको थियो ।
अवस्था साम्य पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हम्मै परेको थियो । विदेह नगरपालिकाको गत वैशाख दोस्रो साता सम्पन्न बोर्ड बैठकले विद्यालयका प्रअ मण्डललाई नगरपालिका भित्रकै शंकर जनता मावि, दुहवीमा सरुवा गरेपछि प्रअ मण्डल र नगरप्रमुख दासबीच द्वन्द्व बढेको हो । अभिभावक तथा विद्यार्थीहरू दुई ध्रुवमा विभाजित भएकाले पछिल्ला केही दिनदेखि तिनकौरियाचोक नै तनावग्रस्त छ । मण्डल समर्थक विद्यार्थीहरू शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी समेतगरेका थिए ।
प्रअ मण्डलको कार्यर् सम्पादन सन्तोषजनक नभएको तथा विद्यालयमा आर्थिक अनियमिता भएको आरोप लगाउँदै नगरपालिका बोर्ड बैठकको निर्णयले मण्डललाई काज सरुवा गरिएको मेयर दासले बताए । गत पाँच वर्षदेखि प्राविधिक धारका विद्यार्थीहरूका लागि आएको छात्रवृति, निजी शिक्षकहरूको तलब आदि शीर्षकमा भएको खर्चको विवरण दिन लिखित पत्र पठाउँदा पनि प्रअ मण्डलले कुनै जवाफ नदिए पछि बोर्ड बैठकबाट काज सरुवा गरिएको उनको कथन छ । ‘तलब भत्ता नगरपालिकाले दिने अनि आम्दानी खर्चको हिसाबसम्म नबुझाउने ? बोर्ड बैठकले नगरपालिकाको अधिकार प्रयोग गरेर नगरभित्रको विद्यालयमा काज सरुवा गरेको हो,’ मेयर दासले भने ।
तर प्रअ मण्डलले भने नगरपालिकासँग सरुवा गर्ने अधिकार नभएको तथा विद्यालयका बजेटमा कमिसन नदिएका कारण मेयर दास आफूलाई काज सरुवा गरेको आरोप लगाउँछन् । कान्तिपुरसँगको फोन सम्पर्कमा उनले भने, ‘यद्यपि आधिकारिक रूपमा मलाई काज सरुवा गरेको पत्र प्राप्त भएको छैन । नगरपालिकासँग हुँदै नभएको शिक्षकको सरुवा गर्ने अधिकार उनलाईकसले दियो ?’
नगरपालिकाले निजी स्रोतका १८ जना शिक्षकको ९ महिनादेखि तथा दरबन्दीका शिक्षकहरूलाई गत चार महिनादेखि तलब उपलब्ध नगराएको आरोप प्रअ मण्डलको छ । नमुना र प्राविधिक धार तथा सामान्य धारको विद्यालय सञ्चालन शीर्षकमा विद्यालयको नाममा झण्डै ५ करोड छ तर नगरपालिकाले निकासा दिएको छैन । मेयरसाहेव कमिसन खोजी रहनु भएको छ,’ प्रअ मण्डलले भने ।
यता मेयर दासले प्रअ मण्डलमाथि निजी स्रोतका शिक्षकहरूको तलबमा अनियमिता गर्दै आएको आरोप लगाए । ‘नगरपालिका प्रत्येक २/२ महिनामा तलब निकासा दिँदै आएको थियो तर प्रअ मण्डलले शिक्षकहरूलाई एक महिना पछिमात्र तलब बाँड्थे । निजी स्रोतका शिक्षकहरूको तलबमा कमिसन खान्थे ।’ मेयर दासको आरोप छ । वैशाखमा प्रअ परिवर्तन गरेपछि नयाँ खाता खोल्न नसकिएकाले शिक्षक कर्मचारीले समयमा तलब खान नपाएको उनको कथन थियो । प्रअ मण्डलले विद्यार्थीहरूलाई आन्दोलन गर्न उक्साएको आरोप पनि मेयर दासले लगाएका छन् । कान्तिुरसँगको भेटमा उनले भने, नगरपालिकाले गरेको निर्णयविरुद्ध बालबालिकाहरूलाई सडकमा उतार्नु आपत्ति जनक हो ।