विश्वविद्यालय अनुदान आयोगको असारे भ्रमण : अध्यक्षसहित नौजनाको टोली रोकियो
शिक्षाखबर डेस्क
२७ असार २०७६, शुक्रबार
no immg

काठमाडाैं / बजेट सक्न असारे खर्चमा विदेश जान लागेको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीसहितको नौ सदस्यीय टोलीले भ्रमण रद्द गरेको छ । नयाँ पत्रिकामा २२ असारमा ‘विश्वविद्यालय अनुदान आयोगमा असारे खर्च : सम्पूर्ण अधिकृत र पदाधिकारी विदेश भ्रमणमा’ शीर्षकमा समाचार छापिएपछि टोली रोकिन बाध्य भएको हो ।

नयाँ पत्रिकामा समाचार छापिएपछि प्रधानमन्त्री कार्यालयले नै आयोगका पदाधिकारीसँग चासो राखेपछि भ्रमण रद्द भएको स्रोतले बतायो । कार्यालय नै खाली गरेर विदेश भ्रमण गर्न नहुने सुझाब आयोगकै केही उच्च अधिकारीले पनि दिएका थिए । टोलीमा अध्यक्ष सुवेदीसहित बोर्ड सदस्यहरू गोविन्द आचार्य, विकास अधिकारी, चन्द्रकला घिमिरे र पिके झा, आयोगका पदेन सदस्य त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. तीर्थ खनियाँ, कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल र आयोगका कर्मचारी देवेन्द्र रावल थिए । उनीहरूले एक्सपोजर भिजिटका नाममा भ्रमण गर्न लागेका थिए ।

सदस्यसचिवको टोली भने पुग्यो भियतनाम
आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहितको टोली भने २३ असारमा भियतनाम प्रस्थान गरिसकेको छ । भियतनामको टोलीमा अधिकारी र शिक्षा मन्त्रालयका उपसचिवसहित १० जना रहेका छन् । टोलीमा केदारप्रसाद आचार्य, राममणि गौतम, डम्बरलाल श्रेष्ठ, उषा खकुराल, कपिल रिसाल, दुलराज चिमोरिया, विरोद भट्टराई, उषा पोखरेल र शिक्षा मन्त्रालयका उपसचिव रमेश मैनाली छन् । दुई देशको भ्रमणमा जानेहरूका लागि ५० लाख बजेट विनियोजन भएको थियो 

प्रतिक्रिया