४० लाख थान किताब छापिन बाँकी
शिक्षाखबर डेस्क
२९ फाल्गुन २०७६, बिहीबार
no immg

काठमाडौँ — अबको डेढ महिनाभित्र कक्षा ८ सम्मका सबै विद्यार्थीको हातमा रंगीन किताब हुनेछ । यसअघि कक्षा ५ सम्ममात्र रंगीन किताब थिए । सरकारले नेपाली पाठ्यपुस्तक गुणस्तरीय र अन्तर्राष्ट्रिय गुणस्तरको हुने दाबी गरेको छ ।
नेपाली, सामाजिक, अंग्रेजी, गणित, विज्ञान, स्वास्थ्य तथा जनसंख्या, नैतिक शिक्षा, पेसा, कम्प्युटर विज्ञानलगायत विषयका किताब रंगीन छापिएका हुन्। त्यस्ता किताब पाउन सरकारी विद्यालयमै भर्ना हुनुपर्छ।

नयाँ शैक्षिक सत्रमा भर्ना भएर पठनपाठन सुरु नहुँदै सबै विद्यालयमा रंगीन किताब पुगिसक्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ। सरकारले सामुदायिक विद्यालयमा कक्षा १० सम्म किताब निःशुल्क उपलब्ध गराउँदै आएको छ। कक्षा ९ र १० मा भने श्यामश्वेत किताब हुनेछ।
अहिलेका पुस्तक
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत माघमा शैक्षिक सत्र २०७७ मा लागू गर्न बहुरङको पाठ्यपुस्तक छपाउने निर्णय गरेको थियो। कक्षा ५ देखि १० सम्मको किताब सरकार मातहतको जनक शिक्षा सामग्री केन्द्रमा छापिन्छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ४ सम्मको किताब छाप्न भने निजी छापाखानालाई दिँदै आएको छ।

पहिलेका पुस्तक
आउँदो वैशाखमा सुरु हुने शैक्षिक सत्रका निम्ति कक्षा ५ देखि १० सम्म २ करोड थान पुस्तक चाहिन्छ। ‘१ करोड ५० लाख थान छापिसकेर नौ वटा क्षेत्रीय कार्यालयमा पुर्‍याइसकेका छौं,’ जनक शिक्षा केन्द्रका प्रवक्ता चित्र आचार्यले कान्तिपुरसित भने, ‘दस लाख थान पुस्तक छापिएर बाइन्डिङका क्रममा छन्। बाँकी अब एक महिनाभित्र छापिसक्छौं।’ मन्त्रालयले निर्णय नै ढिला गरेकाले यतिन्जेल पूरै छापिइनसकेको उनले बताए।

कर्णाली प्रदेशका पाँच हिमाली जिल्लामा गत माघ २५ मै नयाँ शैक्षिक सत्र सुरु भएको छ। त्यहाँका लागि १८ विषयको रंगीन र ९ विषयको श्यामश्वेत किताब पुर्‍याइएको प्रवक्ता आचार्यले बताए।

प्रतिक्रिया