काठमाडौं / सार्वजनिक (कालो नम्बर प्लेट) सवारीसाधनमा विद्यार्थी बोक्ने निजी विद्यालयलाई कारबाहीको तयारी गरिएको छ । विद्यार्थी बोक्न सार्वजनिक गाडी प्रयोग गर्नु प्रयोजनविपरीत मात्र नभई बालबालिकाको अधिकारसमेत हनन भएकाले कारबाहीको तयारीमा लागिएको हो ।
काठमाडौंका ठूला भनिएकै निजी विद्यालयले समेत थोत्रा सार्वजनिक बस भाडामा लिएर विद्यार्थी ओसार्ने गरेका छन् । सिट च्यातिएका, काँटी निस्किएका तथा सिसा फुटेका थोत्रा र फोहोर भाडाका बसमा ती विद्यालयले विद्यार्थी ओसारेको तस्बिरसहित नयाँ पत्रिकाले बुधबार समाचार छापेको थियो ।
अभिभावकसँग चर्को शुल्क उठाएर विद्यार्थीलाई सार्वजनिक बसमा घन्टौँ यात्रा गराउने निजी विद्यालयले बालअधिकारसमेत हनन गरेकाले कारबाही गर्ने चरणमा पुगिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नयाँ पत्रिकालाई बताए । भौतिक, शिक्षा, गृहलगायत सबै सरोकारवाला मन्त्रालयसँग छलफल गरेपछि कारबाही थाल्ने उनको भनाइ छ ।