विद्यार्थीलाई जातीय पोसाक
शिक्षाखबर डेस्क
२ चैत्र २०७६, आईतवार
no immg

सिन्धुली / सदरमुकाम सिन्धुलीमाढीमा रहेको भगवती आवासीय माविले विद्यार्थीका लागि आफ्नै जातीय पोसाक लागू गरेको छ । विद्यालय तहदेखि नै संस्कृति झल्कने पोसाक लगाए समावेशीको सिद्धान्तलाई मलजल पुग्ने विद्यालयको बुझाइ छ ।

‘विभिन्न मञ्चमा हामी प्रस्तुतिका लागि मात्रै बालबालिकालाई पस्कने गर्छौं तर विद्यालयमै पहिरनको व्यवस्था भएपछि उनीहरूमा आफ्नो संस्कृतिप्रति पनि चासो बढ्छ,’ प्रिन्सिपल कृष्ण उप्रेतीले भने, ‘आफ्नो भेषभूषाप्रतिको चासो र महत्त्व पनि यसले बुझाउन सघाउँछ ।’ एक महिनादेखि यसलाई लागू गरिएको उनले बताए ।

तामाङ भेषभूषामा सजिएर आएकी ६ कक्षामा अध्ययनरत अनिशा मोक्तान जातजातिको पहिरनले आफ्नो धर्म संस्कृतिप्रतिको मोह बढाउने बताउँछिन् । ‘हामी नेपाली हौं, नेपालका धर्म संस्कृतिको जगेर्ना गर्ने कर्तव्य पनि हाम्रै हो,’ उनले भनिन्, ‘जातिगत पहिरनले छुट्टै मौलिकता सिर्जना गरेको छ ।’

कक्षा १० का रमण परियार आफ्नो भेषभूषाप्रति गर्व रहेको बताउँछन् । उनी दौरा, सुरुवाल, कोट र टोपीमा सजिएर आएका थिए । अर्की छात्रा यमकुमारी भुजेल आफ्नो पहिरनमा आउन पाउँदा निकै खुसी देखिइन् । ‘ठूलाले कहिलेकाहीँ कार्यक्रम छ भनेर लगाएको देख्थ्यौं, अहिले त आफैंले पहिरन लगाउन पाइएको छ,’ उनले भनिन् ।

महिनाको अन्तिम मंगलबार र शुक्रबार विद्यार्थीका लागि संस्कृति झल्कने मौलिक पोसाक लगाएर आउन विद्यालयले निर्देशन गरेको हो । अरू दिन भने विद्यालयको नियमित पोसाक नै लगाउनुपर्छ । अन्य दिन नेपाली बोले जरिवाना गर्ने विद्यालयले यो दुई दिन भने नेपाली भाषा बोल्न छुट दिएको छ । हाल सबैजसो विद्यार्थीले जातीय पोसाक लगाउने गरेको र शिक्षकहरूमा पनि बिस्तारै यसलाई लागू गराइने प्रिन्सिपल उप्रेतीले बताए ।

अभिभावक पनि यस्तो व्यवस्थाप्रति खुसी छन् । ‘यो सराहनीय काम हो । बालमस्तिष्कमा नै भाषा, संस्कृतिको अमिट छाप बस्छ,’ अभिभावक दिपेश थापाले भने, ‘संस्कृति जोगाउनमा यसले एउटा इँटा थपेको छ ।’ विद्यालयमा तामाङ, मगर, हायू, क्षेत्री, बाहुन, दलित, नेवार, भुजेललगायत जातजातिका विद्यार्थी पढ्छन् । विद्यालयमा एक हजार ३ सय ५० विद्यार्थी छन् ।

प्रतिक्रिया