महामारी जित्ने सार्कको प्रतिबद्धता
शिक्षाखबर डेस्क
३ चैत्र २०७६, सोमबार
no immg

काठमाडौं / दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार प्रमुखहरूले विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा आइतबार आयोजित भिडियो कन्फरेन्सबाट कोरोनाविरुद्ध मिलेर लड्न सार्कस्तरीय आपतकालीन कोष पनि स्थापना गरिएको छ।

मोदीले कोष स्थापनाको प्रस्ताव गर्दै प्रारम्भमा भारतले एक करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेपछि सार्कका अन्य सदस्य राष्ट्रका सरकार प्रमुखले पनि त्यसमा सहयोग गर्ने प्रतिबद्धता जनाए। कोषमा सार्कबाहेक अन्य राष्ट्रहरुले पनि सहयोग गर्न सक्नेछन्। यो कोष सार्क क्षेत्रमा कोरोनाविरुद्ध लड्न प्रयोग गरिनेछ।

मोदीले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत कोरोनाविरुद्ध एक भएर लड्न सार्क सदस्य राष्ट्रका नेतासमक्ष प्रस्ताव राखेका थिए। उनको प्रस्तावमा सबै सदस्य मुलुकले समर्थन जनाएपछि त्यसबारे आइतबार साँझ भिडियो कन्फरेन्स गरिएको हो। कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले कोरोनाका कारण गम्भीर चुनौती सामना गर्नुपरिरहेको भन्दै आगामी दिनमा अवस्था कस्तो सिर्जना हुन्छ भन्ने अनुमान गर्न नसकिने बताए। उनले कोरोनाविरुद्ध संयुक्त रुपमा लड्न सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (विपद् व्यवस्थापन केन्द्र) लाई प्रयोगमा ल्याउन सकिने धारणा व्यक्त गरे। उनले केन्द्रमार्फत कोरोनाविरुद्धको संयुक्त लडाइँँलाई अघि बढाउन सकिने बताए। उनले सार्कस्तरीय साझा अनुसन्धान केन्द्र स्थापना गर्न सकिने र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले यसको संयोजनमा सघाउन सक्ने पनि बताए। उनले कोरोना पहिलो र अन्तिम प्रकोप नभएको भन्दै दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले कोरोनाका कारण यस क्षेत्रमा दीर्घकालीन रुपमा पर्नसक्ने आर्थिक प्रभावको मूल्यांकन गर्न पनि विज्ञलाई निर्देशन दिए। मोदीको प्रस्तावलाई सार्कका सबै सदस्य मुलुकले अनुमोदन गरेका छन्।

हात मिलाउनुको साटो नमस्ते गरौं: ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क सदस्य राष्ट्रहरूलाई हात मिलाउनेभन्दा नमस्ते गर्ने प्रचलनलाई अघि बढाउन आग्रह गरेका छन्। भिडियो कन्फरेन्समा सम्बोधन गर्दै ओलीले नमस्ते संस्कृतिको विस्तारले कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। ओलीले सार्क क्षेत्र कोरोनाको उच्च जोखिममा रहेकाले मिलेरै सामना गर्नुपर्नेमा जोड दिए। उनले कोरोना रोकथामका लागि स्वयंसेवक खटाउने, आवश्यकता अनुसार सदस्य मुलुकमा मेडिकल टोली खटाउन सकिने, आआफ्ना मेडिकल अभ्यासका अनुभव आदानप्रदान गर्ने र आवश्यक औषधि एवं उपकरण आपूर्तिमा जोड दिए।

ओलीले सार्क आपतकालीन मेडिकल सेन्टर सञ्चालन गर्ने मोदीको प्रस्तावको प्रशंसा गर्दै नेपाल पनि सहभागी हुने बताए। उनले कोरोना नियन्त्रणका लागि नेपाल सरकारबाट भइरहेका प्रयासबारे पनि सदस्य मुलुकलाई जानकारी गराए। उनले नेपालमा केन्द्र, प्रदेश र स्थानीय तहमा सतर्कता अपनाइएको, कोरोना प्रभावित तेस्रो मुलुकहरूबाट हुने आवतजावतमा रोक लगाइएको, अनअराइभल भिसा दिन बन्द गरिएको, अन्तराष्ट्रिय सभा, सम्मेलन तथा हिमाल आरोहणमा पनि रोक लगाइएको जानकारी गराए। उनले केन्द्र, प्रदेश र स्थानीय तहमा आइसोलेसन वार्डको व्यवस्था गरिएको, वास्थ्यकर्मी र अस्पतालको क्षमता अभिवृद्धि गरिएको पनि बताए।

प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमण अहिलेसम्म नदेखिएको जानकारी गराउँदै आशंकितको नमुना परीक्षण भइरहेको बताए।

छलफलमा सार्क सचिवालयमार्फत कोरोनाविरुद्ध संयुक्त अभियान अघि बढाउनुपर्ने प्रस्ताव पनि राखिएको थियो। सार्क सचिवालयमार्फत काम गर्न सजिलो हुने भन्दै श्रीलंका, पाकिस्तानलगायत मुलुकले यस्तो प्रस्ताव राखेका हुन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तर्फबाट सम्मेलनमा सम्बोधन गर्दै जाफर मिर्जाले वर्तमान महामारीसँग लड्न सार्क स्वास्थ्य मन्त्रीस्तरीय बैठक डाक्न पनि प्रस्ताव गरे। कोरोना संक्रमणबाट जम्बु काश्मीर प्रभावित हुनसक्ने भन्दै भारतले केही समयदेखि त्यहाँ लगाउँदै आएको प्रतिबन्ध हटाउन पनि मिर्जाले आग्रह गरे।

कन्फरेन्समा सहभागी सदस्य मुलुकका सरकार प्रमुख, राष्ट्रप्रमुख र प्रतिनिधिले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना पनि गरेका थिए। भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदी, नेपालका प्रधानमन्त्री ओली, श्रीलंकाका राष्ट्रपति गोतावय राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, भुटानका प्रधानमन्त्री लोट्य छिरिङ, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगानिस्तानका राष्ट्रपति असरफ घानी तथा पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहयोगी मिर्जाले सम्बोधन गरेका थिए।

प्रतिक्रिया