निजी शैक्षिक संस्थासँग सरकारले माग्यो दुई हजार अट्ने कक्षाकोठा
शिक्षाखबर डेस्क
१० चैत्र २०७६, सोमबार
no immg

काठमाडौं / सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन काठमाडौं उपत्यकाका निजी शैक्षिक संस्थासँग कक्षाकोठा माग गरेको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा रहेको कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा कम्तीमा दुई हजार व्यक्ति अट्ने होस्टेल÷स्कुलको स्थानसहितको विवरण तयार गरी पेस गर्न आग्रह गरेको हो ।

सरकारले घना बस्ती नभएको ठाउँमा क्वारेन्टाइनका लागि उपयुक्त हुने स्थानसहितको विवरण मागेको हिसानका महासचिव लोकबहादुर भण्डारीले बताए । भण्डारीले निजी शैक्षिक संस्थाका छाता संगठनसँग छलफल गरी विवरण पेस गर्ने बताए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकले मन्त्री भट्टराईको संयोजकत्वमा क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदल गठन गरेको थियो । सो कार्यदलले आइतबार विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग बैठक बसेर क्वारेन्टाइन स्थलको माग गरेको थियो । यसअघि हिसानले क्वारेन्टाइनका लागि पाँच हजार कक्षाकोठा उपलब्ध गराउन सक्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया