राजधानीबाहिर पनि देखियो कोरोना संक्रमण : दुबईबाट फर्किएका धनगढीका युवा संक्रमित
शिक्षाखबर डेस्क
१५ चैत्र २०७६, शनिबार
no immg

धनगढी / उपत्यकाबाहिर पनि कोरोना संक्रमित फेला परेका छन् । धनगढीका ३४ वर्षीय पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या चार पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार संक्रमण देखिएका धनगढीका पुरुष दुबईबाट फर्किएका हुन् । ६ चैतमा दुबईबाट दिल्ली आएका उनी ७ चैतमा काठमाडौँ आइपुगेका थिए । त्यस रात उनी काठमाडौँस्थित मामाको घरमा बसे । धनगढीको टिकट नपाएपछि उनी ८ चैतमा बुद्ध एयरको जहाजबाट नेपालगन्ज र त्यहाँबाट बसमा धनगढी पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी ११ चैतमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

कोरोना संक्रमण देखिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार गराइरहेका अन्य दुई संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रवक्ता देवकोटाले बताए । पहिलोपटक संक्रमण देखिएका युवा भने उपचारपछि घर फर्किसकेका छन् ।

१२ माघयता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आठ सय दुईजना शंकास्पद व्यक्तिको कोरोना परीक्षण गरिएको छ । परीक्षण दायरा फराकिलो बनाउन धरान र नेपालगन्जमा पनि तत्काल सेवा सुरु गर्ने सरकारको योजना छ । प्रवक्ता देवकोटाका अनुसार टेकु अस्पतालमा चार, पाटनमा ६ र कान्ति अस्पतालमा तीन गरी हाल उपत्यकामा १३ जना आशंका गरिएका आइसोलेसनमा छन् । उपत्यकाबाहिर पनि केही रहेको, तर रिपोर्ट आइनसकेको उनले बताए ।

सरकारले टेकुसँगै पाटन र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पनि कोरोना शंकास्पदको जाँच र संक्रमण देखिए उपचार गर्ने व्यवस्था मिलाएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मी बिरामी परे अस्पतालनजिकैको होटेल वा साना अस्पताल खाली गराएर राख्ने व्यवस्था मिलाउने प्रवक्ता देवकोटाले बताए । सरकारले हरेक अस्पताललाई पाँच सेट पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) दिएको छ ।

प्रतिक्रिया