काठमाडौँ / सप्तरीका दुई युवकको मंगलबार आरडीटी किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आयो । त्यसपछि उनीहरुको थ्रोट स्वाब लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षण गर्न पठाइयो । त्यसको रिपोर्ट भने नेगेटिभ आयो ।
काभ्रेमा विदेशबाट आएका दुईजना युवकको आरडीटी किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो भने धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो।
अहिले सबैको दिमाग खराब बनाइरहेको प्रश्न भनेको आरडीटीमा पोजिटिभ देखिएपछि पीसीआरमा किन नेगेटिभ आयो?यसको उत्तर त्यति जटिल छैन।
नेपालमा प्रयोग गरिएको आरडीटी किटले एन्टिबडी परीक्षण गर्छ। एन्टिबडी भनेको शरीरले कोरोना भाइरससँग लड्न उत्पादन गर्ने एकप्रकारको प्रोटिन हो। एन्टिबडी दुई किसिमको हुन्छ– ‘इम्यूनोग्लोब्यूलिन–एम (आईजीएम)’ र ‘इम्यूनोग्लोब्यूलिन–जी (आईजीजी)’।
आईजीएम शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन हुन्छ। संक्रमण भएको केही सातापछि (थोरैमा पनि दुई साता) आईजीएमको स्थानमा शरीरले आईजीजी उत्पादन गर्न थाल्छ। किटले त्यही आईजीएम वा आईजीजी रगतमा भए/नभएको पत्ता लगाउँछ।
सामान्य रुपमा बुझ्दा आईजीएम रगतमा हुनु भनेको शरीरमा संक्रमण छ भन्ने हो। यस्तै आईजीजी रगतमा हुनु भनेको शरीर संक्रमण मुक्त भइसक्यो भन्ने हो। तसर्थ आरडीटी पनि पोजिटिभ र पीसीआर पनि पोजिटिभ हुनु शरीरमा संक्रमण छ भन्ने हो। आरडीटी पोजिटिभ र पीसीआर नेगेटिभ हुनु शरीरमा भाइरसको संक्रमण कुनै समयमा थियो अहिले छैन भन्ने हो। यस्तै आरडीटी पनि नेगेटिभ र पीसीआर पनि नेगेटिभ छ भने हालसम्म भाइरसको संक्रमण नै भएको रहेन छ भनेर बुझ्ने हो। कसैको आरडीटी नेगेटिभ तर पीसीआर पोजिटिभ आयो भने सो व्यक्तिलाई संक्रमण भएको एकदुई दिन मात्रै भयो भन्ने हो।
यसको मतलब के त?
आरडीटी पोजिटिभ र पीसीआर नेगेटिभ आयो भने त्यो व्यक्तिलाई कुनैबेला संक्रमण भएको थियो। संक्रमण भएका बेला उक्त व्यक्तिले भाइरस अरुलाई सारेको पनि हुनसक्छ। त्यसैले सरकारले कम्तीमा पनि आरडीटी पोजिटिभ आएका व्यक्तिको सम्पर्कमा रहेका परिवारका सदस्यहरुको पनि आरडीटी परीक्षण गर्नैपर्छ। सकिन्छ भने पीसीआर नै गरेको उत्तम हुन्छ। उनीहरुको परीक्षण रिपोर्टका आधारमा थप व्यक्ति वा समुदायको परीक्षण गर्ने/नगर्ने भन्ने निर्णय लिन सकिन्छ।
आरडीटी पोजिटिभ र पीसीआर गर्दा नेगेटिभ रिपोर्ट आएकाहरु सुरक्षित हुन्छन्। त्यस्ता व्यक्तिले अरुलाई कोरोना सारेको देखिएको छैन। बरु त्यस्ता व्यक्तिको शरीरबाट एन्टिबडी झिकेर संक्रमितलाई दिँदा रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई फाइदा हुन्छ कि भनेर अध्ययन भइरहेका छन्।
एन्टिबडी पोजिटिभ र पीसीआर नेगेटिभ देखिनुको अर्को अर्थ हो नेपालको सीमा भित्र कोरोना भाइरसले राम्रैसँग प्रवेश गरिसकेको छ। तर किन विदेशमा जस्तो विध्वंश मचाएको छैन भन्ने प्रश्नको यकिन जवाफ भने अहिले कसैसँग छैन।
एन्टिबडी पोजिटिभ भएका धेरै संक्रमित भेटिँदा पनि समाजमा यो रोग नफैलनु भनेको ती संक्रमित व्यक्तिले क्वारेन्टिनको नियम पूर्ण पालना गरे भन्ने पनि हुन्छ। तर, क्वारेन्टिनको नियमको पालना गरे/नगरेको भने उनीहरु नजिक रहेकाहरुले नै यकिन गरे बताइदिनु उत्तम हुन्छ। उनीहरुले आफूलाई कुनै लक्षण नदेखिएको भनेर गाउँवस्तीमा डुलेर हिँड्दा अन्यलाई पनि संक्रमित बनाएको हुने सम्भावना रहन्छ। तसर्थ त्यस्तो चेनलाई ब्रेक गर्न पनि कन्ट्याक्ट ट्रेसिङ गर्न जरुरी हुन्छ।
यो रोगले नेपाल भित्रिएर पनि विध्वंश मचाएको छैन भनेर ढुक्क हुने अवस्था भने छैन। यो संक्रमणले कुन दिन उग्ररुप लिन थाल्छ, जवाफ कसैसँग छैन।