काठमाडौँ / नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १०९ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केका तीन जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भुल्केका १८, ४५ र ६० वर्षीया महिलामा संक्रमण फेला परेको हो ।
भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्य विराटनगरस्थित कोशी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले बताइन् । अन्यको स्वाब परीक्षण जारी रहेको उनले बताइन् ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जना १७ वर्षीय र दुई जना १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या ३० जना पुगेको छ । तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।