काठमाडौं / उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा टोले स्वयंसेवीले कोरोना संक्रमणको जोखिम र नियन्त्रणमा फिल्डमा खटिएका डाक्टरको हुर्मत लिएका छन् । शुक्रबार दिउँसो काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएका स्वयंसेवीले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनको हुर्मत लिएका हुन् । त्यो पनि प्रहरीकै सामुन्ने ।
चितवन र हेटौँडामा कोरोना भाइरस परीक्षणको किट सकिएपछि डा.कार्की काठमाडौं हिँडे । सहयोगीसहित गाडीमा हिँडेका उनी उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा करिब १२ बजे आइपुगे । नाकामा सुरक्षाकर्मी देखिए । उनीहरूसँगै उभिएका थिए, युवाका केही हुल । प्रहरीले गाडी रोक्न संकेत गर्यो । डा.कार्कीले संकेत गरेकै ठाउँमा गाडी रोके । तर, चेकिङ गर्न प्रहरी आएन । हुल बाँधेर उभिएका युवा गाडीनजिक आए । गाडीको झ्याल खोलेर बसेका कार्की भित्रै थिए । एक युवाले निर्देशन शैलीमा गाडीको पास देखाउन भने । कार्कीले पास देखाए । युवाले पासमा रहेको मोबाइल अन गरे । भिडियो बटन थिचे । भिडियोलाई फेसबुकको लाइभ मुडमा लगे । अनि कार्कीसँग सोधपुछ गर्न थाले । हुलहुज्जतसहित उत्रिएका युवाका गतिविधिसामु कार्की निरीह बने । खुरुखुरु प्रश्नको जवाफ दिँदै गए ।
युवा यतिमै रोकिने पक्षमा थिएनन् । उनीहरू अब गाडी खानतलासी गर्नतर्फ लागे । कार्कीलाई गाडीबाट झर्न भने । आदेशअनुसार नै उनी झरे । पछाडिको सिटमा झोला देखियो । युवाले झोला खोल्न भने । उनले झोला खोले । झोलाको पत्रमा कागजात फेला परेपछि डिकी खोल्न भने । उनले डिकी पनि उघारेर देखाए ।
केही फेला नपरेपछि युवाले डाक्टरको नाम सोधे । काम गर्ने संस्थाको परिचय मागे । कार्यरत संस्थाको ओहोदा सोधे । उनले सबै प्रश्नको जवाफ दिँदै गए । कमजोरी पत्ता लगाउन नसकेर दिक्क भएका युवाको ध्यान अचानक डाक्टरको मुखमा पुग्यो । किनकि उनको मुखमा मास्क थिएन । यही कमजोरीलाई प्रयोग गरेर युवाले डा.कार्कीलाई दिनुसम्म दुःख दिए ।
नाका चेकिङको सुरक्षा जिम्मा पाएका प्रहरी निरीक्षक हेमन्तविक्रम थापा पनि नजिकै उभिएका थिए । मातहत खटिएका सुरक्षाकर्मी उनीसँगै थिए । तर, चिकित्सकको हुर्मत काढ्ने युवाको गतिविधि रोक्न उनीहरूले जरुरी ठानेनन् ।
खानतलासी लिनु गैरकानुनी : केदारनाथ शर्मा
प्रवक्ता, गृह मन्त्रालय
नागढुंगा नाका हुँदै लुकीछिपी काठमाडौं आउनेको सूचना पटक–पटक आएपछि त्यसलाई रोक्न स्थानीय सरकारका प्रतिनिधिबाट आग्रह आयो । सहजीकरण गर्न हामीले स्थानीय तहलाई भनेकै हौँ । तर, खानतलासीमै उत्रन भनेका छैनौँ । खानतलास गर्न, सोधपुछ गर्न प्रहरीबाहेक कसैलाई पनि अधिकार छैन । कोही व्यक्ति त्यस्ता गतिविधिमा उत्रिए त्यो गैरकानुनी हो । नागढुंगामा त्यस्ता केही अवाञ्छित गतिविधि भएको सूचना आएको छ । घटना विवरण बुझ्ने काम हुँदै छ । दोषी देखिए कानुनी कारबाही हुनेछ ।
ह्यारेसमेन्टबाट दिक्क छु : डा. नारायण कार्की
निर्देशक, जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश
चितवन र हेटौँडाको ल्याबमा कोरोना भाइरस परीक्षणको किट सकिएपछि लिन काठमाडौं आउनुका विकल्प थिएन । सहयोगीसहित शुक्रबार बिहान काठमाडौं प्रस्थान गरेँ । गाडीको पास पनि थियो । करिब १२ बजे नागढुंगा नाका आइपुगेँ । चेकपोस्टमा केही युवा देखिए । सुरक्षाकर्मी पनि सँगै थिए । प्रहरीले हाम्रो गाडी रोक्यो । तर, चेकिङ गर्न युवा अघि बढे । मसँग गाडीको पास मागे । मैले देखाएँ । गाडीको खानतलासी लिने भने । मैले हुन्छ भनेँ । आदेशबमोजिम मैले गाडीको पछाडितर्फको ढोका खोलेँ । सिटमा झोला थियो । खोल्न भने । खोलेर देखाएँ । डिकी पनि खोलेर देखाएँ । तर, उनीहरूको चित्त बुझेन । उनीहरूले मेरो मुखमा मास्क खोइ भने । कुरा गर्न मास्क खोलेको भनेँ । उनीहरूले यही आधारमा टेकेर मेरो हुर्मत लिए । सुरक्षाकर्मी सबै गतिविधि नियालेर बसेका थिए । उनीहरू युवाको हर्कत रोक्न अघि बढेनन् । सुरक्षाकर्मीकै साथ आएजस्तो देखिन्थ्यो । त्यसैले प्रतिकार गर्ने हिम्मत मसँग आएन । घटनाले मलाई दुखित तुल्याएको छ । घटना सम्बन्धमा तालुकवाला निकायमा पनि भनेको छु । उनीहरूको एक्सन के हुन्छ ? प्रतीक्षामा म छु ।
यस्तो छ संवाद
युवा : तपाईंहरूको गाडीमा ल्याएको ब्यागभित्रको सामग्री छ नि, त्यो देखाउनुस् । त्यो सामान ठ्याक्कै देखाउनुस् है । तपाईं नियमसंगत तवरले आउनुभएको रहेछ । तपाईं पनि एउटा स्वास्थ्यकर्मी हुनुहुँदो रहेछ हैन । तपाईंहरूले जे गर्नुभएको छ त्यो हाम्रै लागि गरेको भन्ने हामीले बुझेका छौँ । अब हामी पनि काम गर्छौं । त्यो तपाईंहरूका लागि हो भन्ने सोच्नुपर्यो भनेर बुझ्नुस् है त । ओके ब्याग चेक गरौँ है त । अप्ठ्यारो मान्नु पर्दैन । हामीले यो गरेको तपाईंहरूकै लागि हो । नागरिकको हैसियतले सामग्री चेक गर्दैै छौँ है ।
डा. कार्की : (ब्याग खोलेर देखाउँदै) यसमा केही कपडा छ । हेर्नुस् ।
युवा : राम्रोसँग स्पष्ट देखिने तरिकाले देखाउनुस् है ।
डा. कार्की : ल हेर्नुहोस् ।
युवा : त्यो अर्को सानो ब्याग पनि खोल्नुस् ।
डा. कार्की : (ब्याग खोलेर पुस्तक र ल्यापटप देखाउँदै) यसमा यही पुस्तक छन् । हेर्नुस् ।
युवा : तपाईंलाई म एउटा प्रश्न सोध्छु है त ।
डा. कार्की : सोध्नुस् ।