चालक र स्वास्थ्यकर्मीले कतै पाउँदैनन् बास, पानीसमेत दिन मान्दैनन्
शिक्षाखबर डेस्क
४ जेष्ठ २०७७, आईतवार
no immg

भोजपुर / वैशाख ११ गते हतुवागढी गाउँपालिका ६, होम्ताङका २६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छायो। गाउँपालिका सिल गरियो। विशेष सुरक्षाका साथ संक्रमित युवकलाई एम्बुलेन्समार्फत विराटनगरको कोरोना विशेष अस्पताल लगियो। अहिले ती युवा निको भइसकेका छन्।

तर, संक्रमित ती युवकलाई पुर्‍याउने एम्बुलेन्स चालकलाई भने अमानवीय व्यवहारको शिकार हुनुपरेको छ। कोरोना बिरामी बोकेको भन्दै स्थानीयवासीबाटै ‘छि छि र दूरदूर’ को अपमान पाएपछि पिरोलिएका हुन्, एम्बुलेन्स चालक मचिन्द्र राई। बिरामीको उपचार सेवामा दिनरात कच्ची, धुलाम्मे, हिलाम्मे यात्रा नभनी निरन्तर सेवामा समर्पित राई सेवाको नाममा उल्टै अपहेलित भएको उनी गुनासो पोख्छन्। ‘पशुलाई पनि राम्रो व्यवहार गरिन्छ होला, मलाई छैन। कोरोना बिरामी बोक्यो भन्दैमा मलाई कोरोना लाग्छ र ? ’, उनले गुनासो थपे, ‘कसैकोमा एकरात बास बस्न त के पिउने पानीसमेत दिन मान्दैनन्।’ कोरोनाको उपचारमा खट्ने एम्बुलेन्स चालक र प्रभावित क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी अपमान झेल्न बाध्य छन्।

नागरिकको स्वास्थ्योपचारमा दिनरात खटेका बेला गलत मानसिकताको शिकार हुनुपरेको उनीहरू गुनासो गर्छन्।

कोरोनाका बिरामी बोकेकै कारण अपमान सहनुपर्ने भएपछि मचिन्द्र गाउँमा बिरामी लिन जाँदा रातभर यात्रा गरेरै भए पनि खान र सुत्न सदरमुकाम नै धाउने गर्छन्। भन्छन्, ‘हेपिनुभन्दा त बरु रातारात आफ्नै कोठामा सुत्न आइन्छ, खाना खाइन्छ।’ बिरामी बोक्दा सम्बन्धित निकायबाट आवश्यक मास्क, पञ्जाजस्ता सामग्री नपाएपछि आफैं खरिद गरेर काम चलाइरहेको गुनासो उनले थपे। स्थानीयवासीले बास नदिएपछि मचिन्द्र १३ घण्टा लगाएर विराटनगरबाट धरानस्थित घर आइपुग्छन्। एम्बुलेन्स चालकसँगै कोरोना प्रभावित क्षेत्रमा काम गर्ने स्वास्थ्य चिकित्सकलाई पनि उत्तिकै पीडा छ।

होम्ताङस्थित ती २६ वर्षीय युवामा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाभित्र काम गर्ने स्वास्थ्यकर्मी कोरोना आशंकामा स्थानीय वासिन्दाले राम्रो व्यवहार नै गर्न छाडेको उनीहरू गुनासो गर्छन्। बिरामीको स्वाब संकलन, नियमित औषधोपचार र खोप लगाउन ग्रामीण बस्तीमा पुग्दासमेत स्थानीयबासीले कोरोना विरामीको संसर्गमा रहेको भन्दै अमानवीय व्यवहार खेप्नु परेको हतुवागढी गाउँपालिकाका स्वास्थ्य प्राविधिक उमेश राईले गुनासो पोखे। ‘संक्रमण प्रभावित गाउँबस्तीमा पुग्दा राम्रो व्यवहार गर्दैनन्, न खानै दिन्छन् न बास नै। कष्टकर यात्रा गरेरै आफ्नै यथास्थानमा आउनुपर्छ’, उनले सुनाए। कोरोना त्रासले ग्रामीण भेगमा काम गर्ने स्वास्थ्यकर्मीलाई चरम सास्ती थपिएको छ।

जिल्ला अस्पतालबाट कोरोना संक्रमितको स्वाब संकलन गर्न गएको चिकित्सकको टोलीले बास नपाएर रातको करिब सवा १२ बजेतिर सदरमुकाम आएको स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फणिन्द्र थापाले तीतो अनुभव सुनाए। ‘संक्रमितको स्वाब संकलनमा गएर मुकाम फर्किदा साँझ पर्‍यो, बास माग्दा स्थानीयले बास दिन मानेनन्, अन्तत रातारात मुकाम नै धाउनुपर्‍यो’, थापाले अनभव सुनाउँदै भने, ‘स्थानीय वासिन्दाको साँघुरो सोचले हाम्रा स्वास्थ्यकर्मीलाई काम गर्न सहज छैन, चेतनाको कमीले उनीहरूलाई फिल्डमा खटिँदासमेत बास नपाउने अवस्था छ।’

प्रतिक्रिया