कोरोना महामारीबीच सिरहाका विद्यालयमा पठनपाठन सुचारु
शिक्षाखबर डेस्क
११ आश्विन २०७७, आईतवार
no immg

सिरहा / कोरोना संक्रमण नियन्त्रणका लागि सुरु भएको लकडाउनसँगै बन्द भएका सिरहाका विद्यालयमा पठनपाठन सुरु भएको छ ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ र पाठ्यक्रम विकास केन्द्रबाट जारी गरिएको पाठ्यक्रम समायोजन ढाँचा २०७७ अनुसार सिरहा जिल्लामा पठनपाठन सुरु भएको हो ।

सिरहाको धनगढीमाई नगरपालिकाले भदौ ३० मा प्रध्यानाध्यापकसँग छलफल गरेर पठनपाठन सुचारु गर्ने निर्णय गरेसँगै जिल्लामा पढाइ सुरु भएको हो । धनगढीमाई नगरपालिका क्षेत्रमा रहेका ३३ सामुदायिक विद्यालय र निजी क्षेत्रका विद्यालयहरुमा असोज १ देखि पठनपाठन संचालनमा आएको छ।

धनगढीमाई नगरपालिका भित्रका विद्यालयहरुले दुई सिफ्टमा पठनपाठन सुरु गरेको विद्यालय निरिक्षक बुद्धिमान दनुवारले बताए । विहानको १०-१ बजेको सिफ्टमा प्रारम्भिक कक्षादेखि ४ कक्षासम्म र १-४ बजेको सिफ्टमा ५ देखि १२ कक्षासम्मको बालबालिकाको पठनपाठन सुरु भएको दनुवारले जानकारी दिए ।

यता लहान नगरपालिकाले असोज ७ देखि कक्षा ८–१२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय गरेसँगै पठनपाठन सुचारु गरिएको छ । लहान नगरपालिकाको नगर शिक्षा समितिले असोज १ मा पठनपाठन सुचारु गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भूषालले बताए । ‘प्रारम्भिक कक्षादेखि ७ सम्मको पठनपाठन विद्यालयमै संचालन गर्न चाँडै निर्णय गरिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत भूषालले भने,‘अहिले माथिल्लो कक्षाको पठनपाठन केही दिन हेर्छौं ।’

१७ स्थानीय तह रहेको सिरहा जिल्लामा धनगढीमाई र लहान नगरपालिकाले पठनपाठन सुचारु गरेपछि बाँकी ११ स्थानीय तहले पनि पठनपाठन सुचारु गर्न निर्णय गरेको छ । सिरहा नगरपालिकाले असोज ११ (आज) देखि पठनपाठन संचालन गर्ने निर्णय गरेको छ । सिरहा नगरपालिकाले कक्षा ८ देखि १२ सम्मको पठनपाठन संचालन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताए ।

यता मिर्चैया नगरपालिका, लक्ष्मीपुर पतारी, गोलबजार, कर्जन्हा, कल्याणपुर लगायतका स्थानीय तहले पनि कक्षा संचालन गर्न तयारी गरेको छ । यी स्थानीय तहहरुले असोज ११ (आज)देखि कक्षा संचालन गर्ने निर्णय गरेको छ ।

बढ्यो विद्यार्थीकाे चाप

हिमालय आधारभूत विद्यालय सिमलटोकी धनगढीमाई नगरपालिका १२ का प्रध्यानाध्यापक भूपेन्द्र बहादुर हमालले पठनपाठन सुचारु गरिएको बताए । विद्यालयमा ४ सय ७० विद्यार्थी रहेको र दुई सिफ्ट गरि पठनपाठन असोज १ देखि संचालन भैरहेको भन्दै हमालले विद्यार्थीको चाप वढेको बताए ।

पठनपाठन सुचारु गरेका स्थानीय तहका नगर शिक्षा समितिले समाजिक दुरी कायम राख्नुपर्ने, साबुन पानीले हात धुने व्यवस्था हुनुपर्ने र विद्यार्थीले अनिवार्य मास्क लगाउनु पर्ने, दैनिक रुपमा तापक्रम नाप्नुपर्ने जस्ता सुरक्षा मापदण्ड अपनाउनु पर्ने निर्णय गरेको गरेको छ ।

प्रतिक्रिया