डडेल्धुरा / डडेल्धुराको एक स्थानीय तहका विद्यालय खुल्न थालेका छन्। जिल्लाको अजयमेरु गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालय खुलेका छन् ।
आइतबारदेखि समाजिक दुरी कायम गरी विद्यालयमा निरन्तर पढाइको सुरुवात गरिएको छ ।
जिल्लामा कोरोनाको महामारीका कारण बन्द रहेका विद्यालय पहिलो चोटि खुलेका हुन् । अजयमेरुले गाउँपालिका स्तरीय निर्णय गरी विद्यालय खोल्ने सहमति गरेको हो । सोही सहमति र निर्णयका आधारमा आजदेखि पढाइ सुचारु गरिएको हो ।
३२ वटा सामुदायिक विद्यालय रहेको उक्त गाउँपालिकाका सबै विद्यालयमा अभिभावक, शिक्षक र शिक्षा शाखा अजयमेरुसँगको छलफल पछि विद्यालय खोलिएका हुन् ।अजयमेरु गाउँपालिकाले स्थानीय तहमा रहेका विद्यालय संचालनका लागि यसअघि प्रधानाध्यापक, अभिभावक, विद्यालय कर्मचारी र अन्य सरोकारवालासँग राय सुझाव संकलन गरी विद्यालय संचालन गर्ने निर्णय गरेको हो । कोरोनाको जोखिमलाई मद्यनजर गर्दै नियमित विद्यालय खोल्ने निर्णय गरेको अजयमेरु गाउँपालिकाले जनाएको छ ।
साथै विधार्थीलाई कोरोनाबाट जोगिन स्वास्थ्य सामाग्री तथा सम्पूर्ण सुरक्षाका सामग्री अपनाएर विद्यालयमा नियमित पठनपाठन गर्न थालिएको छ । विगतदिनमा कोरेन्टाइन बनाइएका विद्यालय भवनका कक्षाकोठा पूर्णरुपमा सेनेटाइज गरी पठनकार्य सुचारु गरिएको शिक्षक बताउँछन् ।हालका लागि विद्यालयको चौरमा समाजिक दुरी कायम गरी पठनकार्य गराइरहेको अमयमेरु १ मा रहेको वालकल्याण माविका शिक्षकले बताए।
कृषिधारको प्राविधिक शिक्षाको समेत पढाइ हुने बालकल्याणमा बाहिर जिल्लाबाट पनि विधार्थी पढ्न आउँछन् । अन्य विधालयभन्दा सो विद्यालयमा जोखिम बढी भए पनि सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर मात्रै विद्यालय खोलिएको प्रधानाध्यापक जगदिशसिंह भण्डारीले बताए ।
बाहिरबाट आउने विद्यार्थीका लागि होस्टेलको व्यवस्थापन गरिएको जनाए । त्यसैगरी कोरोना संक्रमणदर न्युन रहेका कारण विधार्थीहरुलाई समाजिक दुरीमा बसाली सेनेटाइजर र मास्कको प्रयोग गरी पढाइमा जुटेको शिक्षक भवानी महरले बताए ।
जिल्लाका अरु स्थानीय तहमा पनि विद्यालय खोल्नका लागि छलफल भइरहेको छ। स्थानीयस्तरमा कोरोना महामारीको संक्रमणताको जोखिमलाई हेरी नियमित विद्यालय संचालन गर्नका लागि छलफल अगाडि बढाइएको जनाइएको छ ।
कोरोना संक्रमण दर शून्य रहेको अजयमेरु गाउँपालिकामा बालबालिकालाई पढाइतिर उन्मुख गर्नका लागि अभिभावकको राय लिई नियमित विद्यालय सुचारु गरिएको अजयमेरु शिक्षा शाखाले जनाएको छ ।
अभिभावकसँगको छलफल र गाउँपालिकाको निर्णय अनुसार आइताबारबाट नियमित पढाइ सुरु गरिएको हो । गाँउपालिकाकै निर्णय अनुसार सबै विद्यालयले अभिभावकलाई असोज ७ गते फरकफरक समुहमा बोलाई विद्यालय संचालन सम्बन्धमा छलफल समेत गरेको थियो ।