साइबर अपराधमा पूर्वडिएसपीलाई ५० हजार जरिवाना
शिक्षाखबर डेस्क
१९ आश्विन २०७७, सोमबार
no immg

काठमाडौँ / नेपाल प्रहरीबाट अवकाशप्राप्त पूर्वप्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णकुमार खड्कालाई साइबर अपराधमा ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्तिको फैसला भएको छ। काठमाडौं जिल्ला अदालतले खड्काको फेसबुक आइडीबाट आफ्नै बुहारी मधु शाही (समुना) खड्कालाई अश्लील गालीगलौज गरेको म्यासेज पठाएको आरोप प्रमाणित गर्दै सो जरिवाना र क्षतिपूर्ति फैसला गरेको हो।

अदालतले अनुसन्धानको क्रममा १५ दिन हिरासतमा रहेको दिनलाई कैद आधार मानेर ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्ति सुनाएको जनाएको छ। खड्काकी भाइबुहारी मधु शाही खड्काले दिएको साइबर अपराधविरुद्धको जाहेरीका आधारमा उनलाई प्रहरीले दुई वर्षअघि नियन्त्रणमा लिएर अदालतमा मुद्दा बुझाएको थियो। काठमाडौं जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएका उनलाई हालै सो जरिवाना सुनाइएको थियो। ‘मुद्दाका प्रतिवादी कृष्णकुमार क्षेत्रीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) विपरीत कसुर गरेको ठहर भएको अवस्था छ। सोही ऐनको दफा ४७ (१) बमोजिम ५० हजार जरिवाना हुने ठहर्छ,’ फैसलामा भनिएको छ। त्यसैगरी मधुलाई पूर्वडिएसपी खड्काले आफ्नै मोबाइलबाट फेसबुक म्यासेन्जरमा अश्लील म्यासेज पठाएकाले मोबाइल पनि जफ्त गर्ने फैसला गरेको छ।

नेपालगन्ज स्थायी घर भएका पूर्वडिएसपी खड्का र उनका भाइ–बुहारीबीच विगतदेखि अंश मुद्दा चलिरहेको छ। बुहारी मधु शाही खड्काले आफ्नै जेठाजु कृष्णकुमार खड्काबाट आपत्तिजनक शब्द प्रयोग गरेको स्क्रिन सर्टसहित उजुरी दिएपछि उनीविरुद्ध अदालतमा मुद्दा चलेको थियो। उनी पूर्वडिएसपी कृष्णराज खड्काका आफ्नै भाइ दिलीपकुमार खड्काकी पत्नी हुन्। हाल उनी बानेश्वरमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छिन्।

प्रतिक्रिया