निःशुल्क वाइफाइ परियोजनामा नेपाल भित्रियो फेसबुक
शिक्षाखबर डेस्क
२१ आश्विन २०७७, बुधबार
no immg

काठमाडौँ / सामाजिक सञ्जाल फेसबुक सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पुर्‍याउने परियोजनामार्फत् नेपाल भित्रिएको छ । विकासोन्मुख मुलुकमा इन्टरनेट पहुँच बढाउने फेसबुकको परियोजना एक्सप्रेसवाइफाई मार्फत् फेसबुक नेपाल आएको हो । सार्वजनिक स्थानमा निःशुल्क वाइफाइको लागि फेसबुकले नेपालको सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनसँग सहकार्य सुरु गरेको हो ।

लकडाउनअघि देखि नै फेसबुकले वर्ल्डलिंकसँगको सहकार्य सुरु गरेको भए पनि यसलाई भर्खरै सार्वजनिक गरिएको वर्ल्डलिंकका सञ्चालक दीलिप अग्रवालले जानकारी दिए । ‘हामीले १० हजार स्थानमा निःशुल्क वाइफाइ हटस्पट जडान गरिसकेका छौं,’ उनले भने, ‘यी सबै हटस्पटमा फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग गर्न दिने गरी हामीबीच सहकार्य भएको हो ।’

फेसबुकले निःशुल्क वाइफाइ हटस्पट व्यवस्थापनको लागि बनाएको सफ्टवेयरको प्रयोगले इन्टरनेटको गुणस्तर बढ्नुका साथै सेवा प्रयोगकर्ता मैत्री हुने दाबी उनको छ । ‘वर्ल्डलिंकको निःशुल्क वाइफाइमा यसअघि प्रयोगकर्ताले हरेकपटक मोबाइलमा एसएमएसमार्फत् अथेन्टिकेसन गर्नुपर्नेमा अब एकपटक गरेपछि जतिपटक पनि इन्टरनेटमा कनेक्ट हुन सकिन्छ,’ अग्रवालले भने,‘यो सफ्टवेयरको प्रयोगले निःशुल्क वाइफाई हटस्पटको इन्टरनेट गुणस्तर पनि अभिवृद्धि गर्छ ।’

फेसबुकले विकासोन्मुख देशमा इन्टरनेट पहुँच पुर्‍याउन एक्सप्रेस वाईफाई परियोजना सुरु गरेको हो । फेसबुकको यो परियोजना एसियाका दुई मुलुक नेपाल र भारतमा मात्रै कार्यान्वयन भइरहेको छ । योबाहेक अफ्रिकाका ७, दक्षिण पूर्वी एसियाका दुई, दक्षिण अमेरिकाका २ र उत्तर अमेरिकाको एक देशमा पनि यो परियोजनाले काम गरिरहेको वाइफाई एक्सप्रेस परियोजनाको वेबसाइटमा उल्लेख गरिएको छ ।

यो परियोजनामार्फत फेसबुकले विभिन्न देशमा विभिन्न मोडालिटीमा इन्टरनेटको पहुँच पुर्‍याउने काम गरिरहेको छ । नेपालमा पनि वर्ल्डलिंकले राखेको १० हजार फाइफाइ हटस्पटको संख्या बढाउन सहकार्यको लागि छलफल भइरहेको अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया