शैक्षिक सत्रको समय बढाउन सुझाब
शिक्षाखबर डेस्क
१४ माघ २०७७, बुधबार
no immg

काठमाडौं / कोभिडका कारण व्यवस्थित रूपमा पठनपाठन हुन नसकेको भन्दै शिक्षकलगायत सरोकारवालाले शैक्षिक सत्र पछि सार्न सुझाब दिएका छन् । भर्चुअल कक्षा प्रभावकारी नभएको र भर्खरै विद्यालय खुलेर पठनपाठन भइरहेकाले चैतमा सम्पन्न हुने शैक्षिक सत्र केही महिना पछि सार्न माग गरेका हुन् ।

शैक्षिक सत्र कहिलेसम्म हुने भन्ने विषयमा निर्णय नहुँदा अन्योल भएको प्रधानाध्यापकहरूको भनाइ छ । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले गरेको अन्तरक्रियामा शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले शैक्षिक सत्र कहिले सकिनेभन्दा पनि विद्यार्थीको सिकाइ सुनिश्चित हुनुपर्ने बताए । विद्यार्थीले तोकिएको सिकाइ उपलब्धि जहिले हासिल गर्न सक्छन् शैक्षिक सत्र त्यही वेलासम्म हुनुपर्ने बताए ।

डिल्लीबजार कन्या स्कुलकी प्रधानाध्यापिका रिता तिवारीले चैतसम्ममा धेरैको सिकाइ नपुग्ने बताइन् । आफ्नो विद्यालयमा धेरै पढाएकाले धेरै फरक नपर्ने भए पनि अत्यत्र राम्रोसँग पढाइ नभएकाले चैतमा सक्न कठिन हुने उनको भनाइ छ । पद्मोदय माविका निमित्त प्रधानाध्यापक नारायण गौतमले भर्खरै विद्यालय खुलेर पढाइ सञ्चालन भइरहेकोले पढाइ नसक्दै परीक्षा लिन नहुने बताए । केही महिना पछि सार्दा राम्रो हुने गौतमको भनाइ छ ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अब कक्षा १ देखि १२ सम्मको शैक्षिक सत्र एकीकृत हुनुपर्ने बताए । अध्यक्ष भण्डारीले ०७७ को शैक्षिक सत्र जेठसम्ममा सम्पन्न गर्दा राम्रो हुने बताए । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले भने वैशाख पहिलो सातासम्म पढाएर दोस्रो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न सकिने बताए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विभिन्न विकल्पसहित शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको बताए । दुई महिना सार्नुपर्ने विकल्पसहितका विकल्पबारे मन्त्रिपरिषदमा पठाएको बताए ।

प्रतिक्रिया