चिनियाँ खोप व्यापारी र विद्यार्थीलाई लगाइने
शिक्षाखबर डेस्क
२३ चैत्र २०७७, सोमबार
no immg

काठमाडौं / सरकारले २५ चैतदेखि चिनियाँ खोप लगाउने भएको छ । चीनले आफ्नो देश प्रवेश गर्नेलाई अन्य देशले उत्पादन गरेको खोप लगाए मान्यता नदिने परिपत्र गरेपछि स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएको सार्स कोभ– २ भ्याक्सिन (भेरोसेल) लगाउने निर्णय गरेको हो । सो खोप चीनमा अध्ययन गर्ने विद्यार्थी र व्यापारीलाई लगाइने भएको छ । ६० वर्षभन्दा बढी उमेर समूहलाई भने यो खोप दिइनेछैन ।

चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप १६ चैतमा सरकारले चार्टर विमानमार्फत नेपाल ल्याएको थियो । ‘स्वास्थ्य मन्त्रालयमा आइतबार बसेको बैठकले चीनबाट ल्याएको सार्स कोभ– २ भ्याक्सिन (भेरोसेल) २५ चैतबाट लगाउने निर्णय भएको छ । सो खोप सीमापार व्यापार व्यवसाय गर्ने, चीनमा अध्ययन गर्न जाने विद्यार्थी, भ्रमणमा जाने कर्मचारीलाई दिइनेछ,’ स्वास्थ्य सेवा विभागका एक अधिकारीले भने ।

मन्त्रालय स्रोतका अनुसार हजारभन्दा बढी विद्यार्थी खोप लगाउन नपाएर चीन जान पाएका छैनन् । त्यस्तै, एक लाखको संख्यामा सीमापार व्यापारीहरू छन् । मन्त्रालयले चिनियाँ खोप काठमाडौं उपत्यकाका अस्पताल र प्रदेश अस्पतालमा केन्द्रित रहेर लगाउने योजना बनाइएको छ ।

त्यसका लागि १५ देखि २० वटा केन्द्र तोकिने भएको छ । व्यवस्थापन महाशाखाका अनुसार खोप कार्ड बनाइँदै छ । यसअघि कोभिसिल्ड खोप लगाएका व्यक्तिको पहिचानका लागि पनि खोपअनुसारको कार्ड आवश्यक हुने व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले बताए ।

सरकारले पहिलो डोज खोप लगाएकालाई आगामी ७ वैशाखबाट दोस्रो डोज लगाउने निर्णय गरेको छ । तर, समयमा भारतबाट दश लाख डोज खोप नआएमा सो अभियान प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया