परीक्षाकालागि विद्यालयको होस्टेलमा बसेकी बालिकाको अचानक मृत्यु
शिक्षाखबर डेस्क
१२ बैशाख २०७८, आईतवार
no immg

सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन लत्याउदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको छात्राबासमा बस्ने बालिकाको शनिवार अचानक मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका नयाँमिलमा रहेको प्यारामाउण्ट बोर्डिङ स्कुलमा १० कक्षामा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार उपचारकालागि अस्पताल लैजादै गर्दा मृत्यु भएको विद्यालयले जनाएको छ। विद्यालयका सहप्राचार्य लिलाधर किराँतले बालिका बिरामी भएपछि शनिवार बिहानै अभिभावक बोलाएर जिम्मा लगाएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको खबर पाएको बताए।

बालिकाका आफन्त भास्कर भण्डारीले बालिकालाइ सिकिस्त अवस्थामा विद्यालयबाट निकालेर नजिकैको क्रिमसन अस्पताल लैजादै गर्दा मृत्यु भएको बताए। ‘हामीले खबर पाउदा बालिकाको अवस्था निकै गम्भिर थियो। उनको शरीर निकै तातेको थियो । तत्कालै नजिकैको अस्पताल पुर्‍याउँदा डाक्टरले उनको मृत्यु भइसकेको बताए’ भण्डारीले भने। अस्पताल ल्याउनु अघिनै बालिकाको मृत्यु भइसहेको क्रिमसन अस्पतालका चिकित्सकले बताएका छन। ती बालिकालाइ उच्च ज्वरो आएको बताइएको छ । तर मृत्युको कारण भने पत्ता लगिसकेको छैन। कोरोना परिक्षणकालागि स्वाब निकालिएको अस्पतालले जनाएको छ।

ती बालिका स्कुलको छात्राबासमा बसेर परीक्षा दिइरहेकी थिइन्। बालिकासंगै छात्राबासमा बस्ने अन्य बालबालिकाका अनुसार उनलाइ दुइ दिन देखि ज्वरो आएको थियो। तर स्कुलले उपचारकालागि अस्पताल लगेन। गएरातीदेखि ती बालिकाले आफुलाइ निकै अशहज महसुस भएको साथीहरुलाइ बताएकी थिइन्। बिहान पख अन्य बालबालिकाहरुले होस्टेलका कर्मचारी र शिक्षकसंग उपचारकालागि लैजान कर गरेपछि बल्ल स्कुलले अभिभावक बोलाएर ती बालिकालाइ जिम्मा लगाएको थियो। बालिकाका आफन्त भण्डारीले पनि परीक्षा संचालन गर्ने निहुँमा बिद्यालयले बिरामी बालिकाको उपचार नगरी राखेको र परिवारलाइ समेत समयमै खबर नगरेको बताए ।

गुल्मी मजुवा घर भएकी बालिकाको बुवा आमा बिदेशमा रहेको बताइन्छ । उनी नयाँमिलमा आफ्नो ठुलोबुवा आमाको सम्पर्कमा रहेर प्यारामाउण्टमा अध्ययन गरीरहेको पनि भण्डारीले बताए । शनिबारसम्म सो स्कुलको होस्टलमा करिब ५० जना बालबालिकाले बसेर परीक्षा दिइरहेको बताइएको छ। स्कुलले यही १५ गते सकिने गरी परिक्षा संचालन गरेको अभिभावकहरुले बताएका छन् । होस्टेलमा बसेर परिक्षा दिइरहेका मध्ये अन्य केही बालबालिकालाइ समेत रुघाखोकी र ज्वरो आएको बताइएको छ।

शनिबार ती बालिकाको ज्यान गएपछि कोरोना परिक्षणकालागि अन्य बालबालिकाको समेत स्वाब संकलन गरिएको छ। बालिकाको ज्यान गएपछि अभिभावकहरुले शनिबार केहिबेर स्कुल घेराउ गरि नाराबाजी गरेका थिए । अभिभावकहरुले निजी बोर्डिङलाइ बढ्दो जोखीमका बाबजुद परिक्षा संचालन दिएको भन्दै नगरपालिका प्रति समेत आक्रोस पोखेका छन्। नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जोखीम बढदै गएकाले आइतबार नै बैठक बसी स्कुल कलेज बन्द गर्ने सम्बन्धमा उचित निर्णय गरिने बताए।

‘यसअघि नगरका स्कुलहरुले निकालेको परीक्षा तालिका अनुरुप ती परीक्षा सकेर स्कुल बन्द गर्ने भनेका थियौं तर अव जोखीम बढीरहेकाले तत्कालै उचित निर्णय लिनु पर्छ भन्नेमा पुगेका छौं’प्रवक्ता श्रीले भने। उनले सरकारले बुटवल भैरहवालाइ तोकेरै स्कुल बन्द गर्न निर्देशन दिएपनि अन्य नगरपालिकालाइ भने माथिबाट निर्देशन नदिँदा समस्या भएको पनि उल्लेख गरे।

प्रतिक्रिया