साढे दुई रुपैयाँको मास्कलाई १० रुपैयाँ
शिक्षाखबर डेस्क
२० बैशाख २०७८, सोमबार
no immg

काठमाडौँ / कोभिडको मौका छोपी सर्जिकल सामग्री बिक्री गर्ने व्यवसायीहरूले मास्कमा अनुचित मूल्य लिएपछि सरकारले कारबाही थालेको छ ।

अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको छ । तर सोही मास्क सर्वसाधारणले प्रतिपिस १० रुपैयाँभन्दा बढीमा किन्नुपरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।

‘सर्जिकल सामानमा अनुगमन गर्दा उत्पादक र खुद्रामा मूल्यमा धेरै अन्तर देखियो,’ विभागका प्रवक्ता शिवराज सेढार्इंले भने, ‘बढी मूल्य लिई उपभोक्ता ठगी गरिरहेका सर्जिकल हाउस/स्टोरलाई कारबाही गरिरहेका छौं ।’ अबको अनुसन्धान थोक र खुद्रा विक्रेताको तहमा हुने उनले जानकारी दिए । विभागले शुक्रबार ज्ञानेश्वरस्थित अनुज स्टोर, यू एन्ड बी स्टोर तथा आरएन स्टोरलाई ५ हजारका दरले जरिवाना गरेको थियो । तीनवटै स्टोरको बिल पारदर्शी थिएन ।

खरिद र बिक्री बिल देखाउन नसकेपछि तीनै स्टोरलाई ५ हजार रुपैयाँका दरले कारबाही गरिएको सेढाईंले बताए । ‘खरिद बिक्री बिल देखाउन नक्सनु भनेको अपारदर्शिता हो । यसले मूल्यमा धेरै असर पार्छ,’ उनले भने । ती स्टोरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम बिलबीजक जारी नगरी ऐनको दफा ३८ (घ) अनुसारको कसुर गरेको हुनाले ऐन दफा ३९ (१) (क) बमोजिम प्रत्येक फर्मलाई ५ हजारका दरले जरिवाना गरिएको छ ।

विभागले शुक्रबार नै भक्तपुरमा रहेको हिमालयन लाइफ केयर इन्डस्ट्रिजमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा कम्पनीले थोक विक्रेतालाई प्रतिपिस २ रुपैयाँ ४ पैसाका दरले बिक्री गरेको पाइएको थियो । कम्पनीले ४५ पिसको प्याकेट बनाई बिक्री गरिरहेको पनि भेटिएको थियो । ‘दैनिक करिब १ लाख ५० हजार पिस मास्क उत्पादन गर्ने क्षमता रहेको उक्त उद्योगले मुनाफा राखेर थोक विक्रेतालाई प्रतिपिस २ रुपैयाँ ४ पैसामा बेचेको बिल देखियो । तर प्याकेटमा मूल्यसूची राखेको थिएन । एमआरपी नभएपछि खुद्रामा चलखेल हुन सक्छ,’ सेढाईंले भने, ‘त्यही कारणले हिमालयनलाई पनि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) अनुसारको कसुरमा ऐनको दफा ३९ (१) (घ) बमोजिम ५० हजार जरिवाना गरिएको हो ।

प्रतिक्रिया