कोरोना कहर : आमाको शव चितामाथि, अस्पतालमा छोराको मृत्यु
शिक्षाखबर डेस्क
३१ बैशाख २०७८, शुक्रबार
no immg

विराटनगर / कोरोना भाइरसबाट संक्रमित बनेकी विराटनगर महानगरपालिका–३ की ६० वर्षीया वृद्धा महिलाको बुधबारसाँझ विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भयो। पारिवारिक स्रोतका अनुसार कोरोना पुष्टि भएर श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि वैशाख १६ गते अस्पताल भर्ना गरिएको थियो। अवस्था गम्भीर बनेपछि परिवारका सदस्यले अस्पताल र चिकित्सकको सहारा लिनुपर्ने अवस्था आएको हो।

अस्पतालका लेखा अधिकृत सुवास पोखरेलका अनुसार उपचारकै क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएकी वृद्धा महिलाको भेन्टिलेटरमा साँझ ७:३० बजेतिर मृत्यु भएको हो। वृद्धामा मधुमेह सम्बन्धी पुरानै समस्या रहेको पोखरेलले बताए।

विराटनगरको हाटखोलास्थित परमविश्रान्ति घाटमा अन्त्येष्टि गर्ने तयारीअनुरुप अस्पतालबाट उठाएर शव घाटमा पुर्‍याइयो। कोरोनाका कारण वृद्धा महिलाको मृत्यु भइसक्दा कोरोना संक्रमित उनका ४२ वर्षे छोराको पनि नर्सिङ होममै गम्भीर अवस्थामा उपचार भइरहेको थियो। उनी विराटनगरका नामुद सुनचाँदी व्यवसायी हुन्।

शव व्यवस्थापनमा खटिएको टोलीले लगेर जलाउनका लागि दाउराको चितामाथि शव राखिदियो। शवलाई चितामाथि राखिसक्न नपाउँदै अस्पतालबाट छोराको पनि मृत्यु भएको खबर आयो। अस्पतालका लेखा अधिकृत पोखरेलले छोराको मृत्यु बिहीबार दिउँसो २ बजेतिर कोभिड वार्डको आईसीयूमा भएको जानकारी दिए। उनका अनुसार गम्भीर अवस्थामा वैशाख २३ गते अस्पताल भर्ना गरिएका उनको अक्सिजन सपोर्टमा उपचार भइरहेको थियो।

अस्पताल ल्याउँदा आमाछोराकै अवस्था अत्यन्तै नाजुक रहेको बताउँदै पोखरेलले स्वास्थ्यमा उतारचढाव हुँदाहुँदै दुवै जनाको ज्यान गएको जानकारी दिए। दाजुको मृत्युको खबर सुनेलगत्तै कान्छो छोरा आमालाई दागबत्ति दिएर हतारहतार अस्पताल पुगेका थिए। आमाको मृत्युले भावविह्वल बनेका उनी दाजु पनि गुमाएको खबरले सम्हालिन सकिरहेका थिएनन्। ‘दाजुको गत वर्ष मात्रै मृगौला प्रत्यारोपण गरिएको थियो,’ उनी सुनाउँदै थिए, ‘आमा घाटमा जल्दाजल्दै दाजु पनि रहनु भएन।’

आमाको शवमा दागबत्ति दिएर आएका उनी दाइको शव अस्पतालबाट उठ्नलाई धेरै समय लाग्ने हो कि भन्ने अर्को चिन्तामा थिए। तर राति नै घाटमा लगेर उनका दाजुको पनि अन्त्येष्टि गरिएको छ। ‘घाटमा आमा आगोमा जलिरहनु भएको छ,’ भक्कानिँदै उनी भन्दै थिए, ‘आमा र दाजुलाई एकै दिन संसारबाट बिदा गर्नुपर्ने यो कस्तो विडम्बना ?’
एकै पटक परिवारका दुई अभिभावक गुमाउनु पर्दा आफू केही पनि बोल्न र सोच्नसक्ने अवस्थामा नभएको उनले बताए। उनका अनुसार वृद्ध अवस्थाका बुवा पनि संक्रमित छन्। मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेका बुवालाई स्वास्थ्य अवस्था सामान्य भएकाले तत्कालका लागि घरमै होम आइसोलेसनमै राखिएको उनले बताए।

आमा छोराको कोरोनाका कारण मृत्यु भएको भनेर शव व्यवस्थापनका लागि आफन्तले सहयोग मागिरहँदा वडाध्यक्ष विनोदकुमार बस्नेत पनि कोरोना संक्रमित आफ्नी आमालाई बचाउनका लागि रगतको जोहो गर्न व्यस्त थिए। ७५ वर्षीया आमामा कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख २५ गते मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको उनले बताए।
‘एउटा परिवारमा मृत्यु भएकी आमाको शव जल्न नपाउँदै कोरोना संक्रमित छोराको पनि मृत्यु भयो,’ वडाध्यक्ष बस्नेतले भने, ‘कोरोनाले निम्त्याएको विपत्तिका कारण यहाँभन्दा ठूलो बज्रपात पर्ने अरु कुनै ठाउँ नै छैन।’
उनका अनुसार संक्रमितले भनेका बेला आईसीयू र भेन्टिलेटर पाइरहेका छैनन्। अस्पतालहरुमा कोभिड बेड पूरै भरिएर उपचार पाउननसक्दा बिरामी छटपटाइरहेको दृष्य निक्कै दर्दनाक रहेको उनले सुनाए। ‘अवस्था निक्कै जर्जर बनिसकेको छ। कोरोना संक्रमित मेरी पनि आमा उपचाररत अवस्थामा हुनुहुन्छ,’ बस्नेतले भने, ‘चिकित्सकले आवश्यक पर्‍यो भनेपछि आमाका लागि रगतको जोहो गर्न रक्तसञ्चार केन्द्रमा आएको छु। आमाको उपचारसँगै पीडामा परेका अरु संक्रमितलाई सकेजति सहयोग गरिरहेको छु।’

उनका अनुसार भनेका समयमा संक्रमितका लागि प्लाज्मा र रेम्डेसिभिर पनि पाइँदैन। वडाध्यक्ष बस्नेतले कोरोनाको भयावह अवस्थामा संक्रमित बनेकालाई बचाउनका लागि सक्दो सहयोग गर्न सबैमा आग्रह गरे। उपचाररतको प्लाज्मा थेरापीका लागि सहयोग गर्न संक्रमणमुक्त भएकालाई उनको आग्रह छ। ‘कोरोनाले उत्पन्न गराएको कठिन परिस्थितिका कारण अवस्था सोचेभन्दा धेरै पर पुगिसक्यो,’ उनले भने ‘भयावह अवस्थाको व्याख्या गर्ने शब्द पनि छैन।’ वडाध्यक्ष बस्नेतका अनुसार संक्रमितको आत्माबल बढाउनेतिर सबैको ध्यान जान जरुरी छ।

प्रतिक्रिया