विवाह भोजले फैलायो संक्रमण : कोरोनाले एक सातामा एकै घरका चारको मृत्यु
शिक्षाखबर डेस्क
२ जेष्ठ २०७८, आईतवार
no immg

बागलुङको बडिगाडमा विवाह भोजमा सहभागी हुँदा कोरोना संक्रमण भएका चारजनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–४ जलजलाका एकैघरका बाबु, दुई छोरा र एक छोरीको मृत्यु भएको हो । उनीहरू सबै आफन्तको विवाह भोजमा सहभागी हुँदा संक्रमित भएका थिए ।

स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय छोराको मृत्यु भएको जानकारी दिए । उनका अनुसार शनिबार ५४ वर्षीया छोरीको धौलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ । यसअघि बाबु र एक छोराको धौलागिरि अस्पताल र अर्का छोराको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । शनिबार मृत्यु हुने महिला २१ वैशाखमा कोरोना पुष्टि भएर २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरे पनि विवाह, चौरासी पूजालगायतका भिडभाड गर्दा भयावह अवस्था आएको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चूडामणि कँडेलले बताए । उनका अनुसार गाउँपालिकाभित्र लक्षण देखिएकालाई चेकजाँचका लागि स्वाब संकलन गरी पठाइएकोे छ । बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित बढेपछि सवारीसाधन र सर्वसाधारणको आवतजावतमा कडाइ

कोरोना संक्रमण टोलटोलमा बढ्न थालेपछि नियन्त्रण र रोकथाम गर्न बागलुङको बलेवा क्षेत्रमा कडाइ थालिएको छ । बागलुङ नगरपालिकाअन्तर्गत बलेवा क्षेत्रमा पर्ने तीनवटा वडामा समुदायस्तरमै संक्रमणको दर बढ्दै गएपछि स्थानीयले नाकामा कडाइ गरेका हुन् ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको २४ दिन भइसक्दासमेत संक्रमितको संख्या घटेको छैन । कोरोनाको लक्षण देखिएकामा परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । वडा कार्यालयले बारम्बार आग्रह गर्दा पनि सर्वसाधारणले अटेर गर्न थालेपछि कडाइ गर्न थालिएको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।

जिल्लाको दक्षिण भेगमा जाने सवारीसाधनलाई आउजाउ गर्न दिइएको छ । तर, बलेवा क्षेत्रमा निषेध गरिएको छ । यति गर्दा पनि सवारीसाधन चलाउने र सर्वसाधारण आवतजावत गर्न थालेपछि वडाका जनप्रतिनिधिकै नेतृत्वमा सीमानाकामै स्वयंसेवक खटाएर कडाइ गरिएको पौडेलले बताए । वडा प्रवेश गर्ने सडकका नाकामा जनप्रतिनिधिकै नेतृत्वमा स्वयंसेवक खटाएर अत्यावश्यक काममा बाहेक अन्य कामका लागि आवतजावत र सवारीसाधनलाई रोक लगाइएको छ ।

‘यस क्षेत्रमा संक्रमणको दर स्थितिभन्दा बाहिर जान लागेको छ । हामी सडकमै बसेर वडा प्रवेशमा रोक लगाएका छौँ,’ वडाध्यक्ष पौडेलले भने, ‘अटेर गर्नेलाई सुरक्षाकर्मीको जिम्मा लगाउनेसमेत गरेका छौँ । यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले साथ दिएको छ ।’ दिनभरि बलेवा प्रवेश गर्ने नाका पाग्जामा वडा सदस्यको साथमा स्थानीयलाई परिचालन गरिएको छ । पैयुँपाटामा एक सय ८५ जनाको स्वाब परीक्षण गरिएकोमा ७० जनालाई कोरोना पजिटिभ देखिएको पौडेलले बताए ।

गाउँ–गाउँमा संक्रमण बढेसँगै एक घरबाट अर्को घरमा जानसमेत रोक लगाइएको छ । ‘अहिले टोलटोलमा एक घरदेखि अर्को घरमा जान पनि निषेध गरिएको छ,’ वडा सदस्य भवानीप्रसाद रिजालले भने, ‘गाउँमा खेतबारीको कामसमेत एकाघरका मान्छेले मात्रै गर्न भनिएको छ । आलोपालो, अर्मपर्म गर्न रोक लगाइएको छ ।’ वडाभित्रको अवस्था भयावह भएको भन्दै वडाले सिमानाका सडकमै बसेर सवारीको आवागमन रोक्न थालेको हो ।

प्रतिक्रिया