वीरगन्ज : पर्साको ग्रामीण भेगमा रहेको एक मात्र सरकारी अस्पतामा बहिरङग (ओपीडी) लगायतका सेवा बन्द हुँदा बिरामी र सेवाग्राही मर्कामा परेका छन् । पोखरीया नगरपालिका ४ मा अवस्थित जिल्ला अस्पताल सरहको पोखरीया अस्पतालमा मङगलबारदेखि ओपीडीलगायतका सेवा बन्द गरिएको हो ।
अस्पताल प्रशासनले सोमबार एक सूचना निकालेर अस्पतालमै कोभिड संक्रमितको उपचार भइरहेकाले आकस्मिक र प्रसूतिबाहेकका अरु सबै उपचार सेवा मङगलबार देखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको हो ।
अस्पतालमा आकस्मिक र प्रसूति सेवा भने सुचारु नै रहेको अस्पताल प्रशासनको सूचनामा उल्लेख छ । ग्रामीण भेगको एक मात्र सरकारी अस्पतालमा ओपीडी लगायतका सेवा बन्द हुँदा पोखरीया नगरपालिका र त्यस आसपासका गाउँका बिरामी र सेवाग्राही मर्कामा परेका हुन् ।
पोखरीयामा निजी क्लिनिक र अस्पताल नभएका कारणले कोभिड बाहेकका अन्य रोगका बिरामी अन्यत्र जानुपर्ने बाध्यता भएको स्थानीय शैलेश कुशवाहाले बताए । उनले भने,‘पोखरीयामा वीरगन्जजस्तो निजी क्लिनिक र नर्सिङ होम पनि छैनन् , गाँउतिरको एक मात्र सरकारी अस्पतालमा ओपीडीलगायतका सेवाहरु बन्द छन् , जसका कारण गाउँका बिरामीलाई उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ । ‘
अस्पतालका निमित्त मेसु डाक्टर सन्जय गुप्ताले पोखरीया अस्पतालमै नगरपालिकाले कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर संचालनमा ल्याएकाले ओपीडी सेवा बन्द गरिएको बताए।उनले भने ,‘ अस्पतालको माथिल्लो तल्लामै आइसोलेसन सेन्टर बनाइएको छ ,अहिले ८ जना संक्रमित भर्ना पनि छन् , संक्रमण सर्ने जोखीम भएकाले तत्कालका लागि ओपीड सेवा बन्द गरिएको हो । ‘
स्वास्थ्य मन्त्रालयले देशभरका सबै अस्पतालमा ओपीडीलगायतका सेवा बन्द गर्न दुई हप्ता पहिले नै पत्रचार गरेको भएपनि आफूहरुले सोमबारसम्म बन्द नगरेको उनले बताए । गुप्ताले भने,‘ एक त जनशक्तिको कमी छ , अस्पतालकै जनशक्ति कोभिड संक्रमितको उपचारमा खटिनु परेको छ , त्यहि जनशक्तिले अन्य बिरामीको उपचार गर्दा संक्रमण सर्ने उच्च जोखिम भएकाले पनि ओपीडी बन्द गर्नु परेको हो । ‘
उनका अनुसार पोखरीया अस्पतालमा हाल एमबीबीएस डाक्टर ४ जना , स्टाफ नर्स २ जना , परारामेडिकल स्टाफ ६ जना कार्यरत छन् । ओपीडी बन्द गरिएपनि आकस्मिक , प्रसूति र फिभर क्लिनिक भने सञ्चालनमा रहेको अस्पताले जनाएको छ।