समुदायमा फैलियो कोरोना
शिक्षाखबर डेस्क
७ जेष्ठ २०७८, शुक्रबार
no immg

भोजपुर / समयमै कोरोना परीक्षण नहुँदा षडानन्द नगरपालिका–१ नेपालेडाँडास्थित समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ। एकपछि अर्को कोरोना संक्रमित भेटिएपछि उक्त वडाको मझुवाबेंसी र सोमबारेका करिब ६० घरधुरी संक्रमणबाट प्रभावित बनेका छन्।

तीन दिनअघि काकाको मृत्युसंस्कार सकेर झापाबाट फर्किएका स्थानीय हरिहर गौतम र उनकै सम्पर्कमा आएका अर्का स्थानीय तेजबहादुर राईमा कोरोना पुष्टि भएपछि संक्रमण समुदायमा फैलिएको हो। संक्रमित गाउँ प्रवेश गर्नुपूर्व गाउँमा सचेतना, पूर्वतयारी र परीक्षणमा ढिलाइ भएकाले कोरोनाको त्रास भयावह बनेको मझुवाबेंसीका स्थानीय सौगात गौतम बताउँछन्। ‘वडाध्यक्ष र स्थानीय प्रशासनले यसको व्यवस्थापनमा बेलैमा सोच्नुपर्ने हो, खासै चासो देखाउनु भएन,’ उनले भने, ‘शून्य पूर्वतयारीले संक्रमणको दर बढ्ने भएकाले गाउँमा सुरक्षित वातावरण छैन, गाउँमा त्रास बढेको छ, ज्यानै जोखिममा परेको छ।’

एकातिर गाउँमा त्रास अर्कोतिर आवश्यक सहज सडकको पहुँच नहुँदा शंकास्पद बिरामीको उद्धार गर्नसमेत समस्या भएको अर्का स्थानीय सुजन भुजेलले सुनाए। उनका अनुसार स्वास्थ्यचौकी धाउनसमेत समस्या भइरहेका बेला गाउँमा संक्रमित भित्रिएपछि झनै जोखिम बढेको छ। करिब ६० घरधुरी रहेको उक्त गाउँमा संक्रमणको डरले खेतबारीको काम थाती राखेरै घरमै बसेका छन्। जसले खेतीपातीको काम ठप्प भएको उनले बताए।

यता वडाले सिंगो वडा सिल गरेको छ। साथै गाउँवासीलाई सुरक्षित साथ घरमै बस्न निर्देशन दिएको छ। वडाध्यक्ष रामेश्वर भण्डारीले संक्रमितको सम्पर्क आउने व्यक्तिहरू थुप्रै रहेको र किट अभावका कारण सबैको पीसीआर परीक्षण गर्न असमर्थ रहेको बताए। उनले भने, ‘हामीसँगै अहिले मात्रै १२ जनालाई पुग्ने परीक्षण किट छ, कन्टयाक्ट टे«सिङ गर्दा गाउँका सबैजसोको पीसीआर टेस्ट गराउनुपर्ने हुन्छ, तर कीट अभावले सबैको परीक्षण गर्न असमर्थ भएका छौँ, सम्बन्धित निकायले पनि सहयोग गरेको छैन।’ वडाका अनुसार संक्रमित पुष्टि भएकालाई षडानन्द नगरपालिका दिङ्लास्थित तयार भएको कोभिड अस्पतालमा लगिने व्यवस्था गरिएको छ।

अहिले विशेषगरी गाउँमा वृद्धवृद्धा र बालबालिका उच्च जोखिममा छन्। पूर्वसावधानी नअपनाउँदा यस्तो भयावह वातावरण सिर्जना भएको स्वास्थ्यचौकी नेपालेडाँडाका अहेब राजु योगीले बताए। स्वास्थ्यचौकी पुग्ने बाटो र सडकको सहज पहुँच नहुँदा यहाँका स्थानीयवासी झन् मारमा परेको उनले बताए। पछिल्लो अपडेटअनुसारको भोजपुरमा कोरोना संक्रमितको संख्या १ सय ७ पुगेको छ।

प्रतिक्रिया