‘ब्ल्याक फंगस’ बढ्दो, औषधि अभाव
शिक्षाखबर डेस्क
१४ जेष्ठ २०७८, शुक्रबार
no immg

बाँके, रुपन्देही, कपिलवस्तु, बर्दिया / गत वैशाखमा बुटवलस्थित कोरोना अस्पतालमा कपिलवस्तुका ६० वर्षीय एक पुरुषको मृत्यु भयो । यसअघि उनी दुई साता आईसीयूमा उपचारपछि कोरोना रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएका थिए ।

अक्सिजनको मात्रा दिइराख्नुपरेको र टाउको दुखिरहेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेर पुनः उपचार थालिएको थियो । मधुमेह भएकाले उपचार गर्दागर्दै उनको एक्कासि आँखाको दृष्टि गुमेको अस्पतालका वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. सुदर्शन थापाले बताए ।

‘अचानक आँखा बन्द भयो, टाउको अधिक दुख्यो भन्नुभयो, बिस्तारै बेहोसी अवस्थामा गएर बिरामीको मृत्यु भयो,’ डा. थापाले भने, ‘कोरोना निको भए पनि ब्ल्याक फंगस (कालो ढुसी) सँग मिल्दाजुल्दा सबै लक्षण देखापरेका थिए । कागजमा देखिने गरी टिपोट नगरिए पनि बिरामीको मृत्यु फंगसकै कारण भएको हाम्रो अनुमान छ ।’

पछिल्लो २ सातामा नेपालगन्जस्थित भेरी अस्पतालमा ४ जना कोरोना संक्रमितमा ब्ल्याक फंगसको संक्रमण देखिएको छ । अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. राजन पाण्डेका अनुसार ब्ल्याक फंगस संक्रमण देखिएका एकको मृत्यु भइसकेको छ । ‘यसअघि नै मधुमेह भएका कोरोना संक्रमितलाई स्टेरोइड औषधि दिँदा सुगर लेबल थप बढ्छ । यस्ता बिरामीमा ब्ल्याक फंगसको संक्रमण बढी हुने सम्भावना रहन्छ,’ उनले भने ।

स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले ब्ल्याक फंगस महामारी नभएको स्पष्ट पारे । उनका अनुसार यो संक्रमण एक हजार जनामा एक जनामा देखिन सक्छ । ‘यो कोरोनाजस्तो महामारी होइन । तर कोरोना संक्रमित कमजोर बिरामीमा त्यस्तो समस्या देखिन सक्छ,’ उनले भने, ‘कोरोना संक्रमित भएर उपचारका लागि नेपालगन्ज आएका केहीमा ब्ल्याक फंगस देखिएपछि उपचारका लागि काठमाडौं पठाएका छौं ।’

संक्रमितलाई एचडीयू वा आईसीयूमा राख्दा अक्सिजन र स्टेरोइड औषधि दिएर निमोनियाको उपचार गरिन्छ । यसको प्रतिफल शरीरमा प्रतिरोधात्मक क्षमता घट्दै जान्छ र अक्सिजनकोचिसोले ब्ल्याक फंगस उत्पन्न हुन सक्ने सम्भावना रहन्छ ।

‘बिरामीलाई बचाउन र दिमागसम्म नफैलियोस् भन्न आँखाको शल्यक्रिया जरुरी पर्छ,’ डा. थापाले भने । कपिलवस्तुमा भने बल्ल यसको सोधीखोजी सुरु भएको छ । ‘जिल्लामा ब्ल्याक फंगसका बिरामी देखिएका छैनन्,’ कपिलवस्तु जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले भने, ‘ब्ल्याक फंगसबारे बुझ्न थालेका छौं ।’

उनका अनुसार अस्पतालमा एक महिनायता २ सय ४० संक्रमितको उपचार भएको छ । तर कसैमा पनि ब्ल्याक फंगसको लक्षण भेटिएको छैन । ‘अहिले भने सतर्कता अपनाउँदै बिरामीसँग हिस्ट्री लिन थालेका छौं,’ उनले भने ।

.बर्दियामा पनि यसको उपचारबारे कुनै तयारी छैन । जिल्लामा आँखासम्बन्धी चिकित्सक नभएकाले पनि यसको उपचार सम्भव नभएको जिल्ला अस्पतालका मेसु डा. सुभाष पाण्डेयले बताए । हालसम्म जिल्लामा ब्ल्याक फंगसका बिरामी फेला नपरे पनि देखिइहालेमा यसको उपचार गर्न तयार भने रहनुपर्ने स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जोड दिए ।

प्रतिक्रिया