कोरोना संक्रमित ७० वर्षीय वृद्धलाई गाउँलेले लखेटे
शिक्षाखबर डेस्क
१४ जेष्ठ २०७८, शुक्रबार
no immg

कोरोना संक्रमित तल्कोट गाउँपालिका–५ ललितपुरका ७० वर्षीय प्रेम विकलाई गाउँलेले लखेटेका छन् । स्वास्थ्यमा समस्या आएपछि ८ जेठमा उनले जिल्ला अस्पताल बझाङमा पिसिआर परीक्षण गराएका थिए । परीक्षण गर्दा रिपोर्ट पजिटिभ आएपछि उनी दुई दिन जिल्ला अस्पतालको आइसोलेसनमा बसे । त्यसपछि होम आइसोलेसनमा बस्ने भन्दै घर हिँडेका विक छिमेकी गाउँपालिका मष्टामा आफन्तको घर जान भनेर हिँडे । मष्टा गाउँपालिका–६ स्थित आफन्तको घर पुगेका विकलाई कोरोना लागेको थाहा पाएपछि गाउँलेले लेखेटेका हुन् ।

गाउँलेले लखटेपछि दुई दिनसम्म उनले भोकभोकै बसे । विकको परिवारमा कोही पनि छैनन् । आफन्तको शरणमा गएका विक गाउँले नै लखेटेपछि साह्रै समस्यामा परेका छन् । स्थानीयले नै तल्कोट गाउँपालिका घर भएका विक मष्टा गाउँपालिकामा दुई दिनसम्म खाना नपाएर छटपटाएको खबर तल्कोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टलाई जानकारी दिएका थिए । सो खबर पाएलगत्तै विष्टले तत्काल तल्कोट गाउँपालिका स्वास्थ्य चौकी इन्चार्ज राजु विकको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाई वृद्धको उद्घार गरेका छन् । हाल उनी तल्कोट गाउँपालिकाको आइसोलेसनमा बसेका छन् ।

‘कोरोना लागेपछि न घरकाले हेरे, न त आफन्तले नै । आफन्तको आसभरोसामा मष्टा गएँ, त्यहाँ पनि गाउँलेले झन्डै ढुंगा हानेर मारेको । दुई दिनसम्म भोकै छु,’ आइसोलेसनमा रहेका कामीले भने ।

घरमा कोही नभएका वृद्घलाई कोरोना लागेपछि गाउँघरमा समेत बस्न दिइएन । त्यसैले अहिले उनी गाउँपालिकाको आइसोलेसनमा उपचार गराइरहेका छन् । ‘कोरोनाका कारण आफन्तको घर मष्टा गाउँपालिकामा गएका विकले खान र बस्न नपाएपछि भौँतारिरहेका थिए,’ तल्कोट गाउँपालिका स्वास्थ्य इन्चार्ज राजु विकले भने, ‘चिन्ताजनक अवस्थामा रहेका विकलाई हामीेले मोटरसाइकलमा लिएर आयौ र उपचार गराइरहेका छौँ ।’ दुई दिनसम्म भोकै भएकाले विकको रक्तचाप एकदमै कम भएको र स्वास्थ्य अवस्था नाजुक रहेको उनले बताए ।

बझाङमा हालसम्म पजिटिभ रिपोर्ट आएका मानिस आइसोलेसन र होम आइसोलेसनमा बसेका छन् । जिल्ला अस्पताल बझाङमा पिसिआर र एन्टिजेनमार्फत कोरोना परीक्षण गरेका झन्डै ३० प्रतिशतमा रिपोर्ट पजिटिभ आउने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए ।

प्रतिक्रिया