काठमाडौँ — बेलायत र फिनल्यान्डले नेपालमा कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

नेपाल सरकारको अनुरोधमा बेलायत सरकारले २६० वटा भेन्टिलेटर, भेन्टिलेटरका लागि आवश्यक सामग्री र १९ हजार २ सय फेससिल्ड उपलब्ध गराएको हो ।
बेलायतबाट बिहीबार पठाइएको ती सामग्री शुक्रबार काठमाडौं आइपुगेपछि बेलायती राजदूत निकोला पोटिलले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी थिइन् ।
यस्तै फिनल्यान्ड सरकारले २४ लाख ९८ हजार ५ सय ४० सर्जिकल मास्क, ३ लाख ४९ हजार ९ सय २० थान केएन–९५ मास्क, १ लाख ६४ हजार ५ सय ग्लोब्स, २६ हजार आइसोलेसन गाउन र २ लाख ८८ हजार फेससिल्ड दिएको छ ।
फिनल्यान्डका राजदूत पेर्टी अन्टिनेनले पनि स्वास्थ्यमन्त्री त्रिपाठीलाई सहयोग हस्तान्तरण गरेका थिए ।






