चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सर्जिकल भवन सञ्चालनमा आएको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) को नयाँ सर्जिकल भवनमा बुधबारदेखि कोरोना संक्रमित भर्ना गरी उपचार थालिएको हो ।
युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा.जागेश्वर गौतमले बेड, अक्सिजन सबै तयारी गरेर ५० जना बिरामी भर्ना गरेको बताए । तर, अक्सिजनको अभावले गर्दा सामान्य अवस्थाका संक्रमित मात्रै भर्ना गरिएको जानकारी दिँदै उनले बिस्तारै क्षमता बढाउँदै लाने बताए ।
‘हामीले मंगलबारबाट वीर अस्पतालमा कोभिड बिरामीको उपचार सुरु गरेका छौँ, उनले भने, ‘अक्सिजन सुविधासहितको ५० बेड सञ्चालनमा आएको छ । बिहीबारदेखि एक सय बेड सञ्चालनमा आउँछ ।’ वीर अस्पतालको सर्जिकल भवन पाँच सय शय्याको छ । डा.गौतमले सर्जिकल भवनमा पूर्ण रूपमा कोभिड संक्रमितको उपचार गर्ने, राष्ट्रिय ट्रमा सेन्टर र वीरको पुरानो भवनलाई ननकोभिडको उपचार गर्ने व्यवस्था मिलाउन लागिएको पनि बताए । ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनमा तीन सय कोभिडका बिरामी उपचाररत छन् ।
कोरोना संक्रमण दर उस्तै
निषेधाज्ञा जारी भएको एक महिना पुग्दासमेत कोरोना संक्रमितको संख्या उल्लेख्य रूपमा घटेको छैन । राजधानीका अस्पतालहरूमा आसपासका पहाडी जिल्लाबाट संक्रमित उपचारका लागि आउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको छ । यसबीचमा ६ हजार आठ सय ९८ जना निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार एक सय ४७ जनाको पिसिआर र तीन हजार १८ जनाको एन्टिजेन गरी कुल २० हजार एक सय ६५ जनाको परीक्षण गरिएको थियो । जसमध्ये पाँच हजार दुई सय ८५ जनाको पिसिआरमा र आठ सयको एन्टिजेनमा गरी ६ हजार ८५ जनाको रिपोर्ट पजिटिभ आएको हो । यसबीचमा ६८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ सय ५४ जना पुगेका छन् ।