विश्व स्वास्थ्य संगठनले भन्यो– नेपालमा नयाँ भेरियन्ट फेला परेको छैन
शिक्षाखबर डेस्क
२१ जेष्ठ २०७८, शुक्रबार
no immg

बेलायतको पत्रिका डेली मेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको भन्दै समाचार प्रकाशित गरेकोमा नेपाल सरकारले आपत्ति प्रकट गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालमा कोभिडको छुट्टै नयाँ भेरियन्ट फैलिएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले नेपालमा कुनै नयाँ भेरियन्ट नदेखिएको बताए । ‘अहिलेसम्म नेपालमा नयाँ भेरियन्ट देखिएको छैन,’ उनले भने, ‘बुधबारसम्म बेलायतले हामीलाई उपलब्ध गराएको सूचनाअनुसार त्यस्तो केही छैन ।’ पौडेलका अनुसार नेपालबाट विदेश गएका नेपालीहरूको कोभिड परीक्षण विभिन्न देशमा भइरहेको छ । तर, कुनै पनि देशमा नयाँ भेरिएन्ट देखिएको जानकारी नआएको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि नेपालमा कुनै नयाँ भेरियन्ट हालसम्म पुष्टि नभएको बताएको छ । डब्लुएचओको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियन्ट फेला परेकोबारे ‘अवगत नभएको’ जनाएको हो । ‘नेपालमा सार्स कोभिड–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा हो,’ डब्लुएचओ नेपाल प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवले नयाँ पत्रिकासँग भने ।

नेपालले भारतस्थित प्रयोगशालामा गराएको जीन सिक्वन्सिङको पछिल्लो नतिजा ४ जेठमा सार्वजनिक गरेको थियो । त्यसैबाट भारतमा देखिएका डेल्टा तथा काप्पा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

डेली मेलको समाचारमा लेखिएको छ, ‘नेपालको नयाँ भेरियन्ट युरोपमा पनि फैलिसकेको छ । यसले बेलायतको बिदालाई असर पारको छ । यो भाइरसमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशंका छ ।’

प्रतिक्रिया