कोरोना संक्रमित बालबालिकालाई २० प्रतिशत बेड छुट्याउन अनुरोध
शिक्षाखबर डेस्क
२२ जेष्ठ २०७८, शनिबार
no immg

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई कम्तीमा २० प्रतिशत बेड संक्रमित बालबालिकाका लागि छुट्याउन अनुरोध गरेको छ ।

कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.मदनकुमार उपाध्यायले सबै अस्पताल र स्वास्थ्य संस्थालाई शुक्रबार पत्र पठाउँदै अनुरोध गरेका हुन् ।

‘प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवा संक्रमित भएकाले व्यवस्थापनसम्बन्धी तयारी पनि यही समूहलक्षित मात्र हुन पुगेको छ,’ उपाध्यायले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘दोस्रो लहरजस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न हुन अनुरोध छ ।’

ती बेडमा अक्सिजनको व्यवस्थासमेत गर्न पनि भनिएको छ ।

प्रतिक्रिया