• कृषि

    मलको गोदाम रित्तै

    २२ जेष्ठ २०७८, शनिबार

    दाङ / धानबालीका लागि मलखादको आवश्यक भइसकेको छ तर दाङमा रासायनिक मलका गोदाम भने रित्तै छन्। विगत एक वर्षदेखि गोदाम भरिन पाएका छैनन्। सहजरूपमा आपूर्ति हुनुपर्ने रासायनिक मल मागअनुसार आपूर्ति हुन नसकेपछि मल राखेका कृषि सामग्रीका गोदामहरू पनि रित्तै छन्।

    हजारौ मेट्रिकटन गोदाम गर्न सकिने क्षमता भएका गोदाम घरमा मल छैन। गोदाम रित्ता हुँदा खेतीको समयमा किसानहरूले मल पाउन सकेका छैनन्। सरकारले आवश्यक मात्रामा रासायनिक मल उपलव्ध गराउन नसक्दा अनुदानमा बिक्री गरिने युरिया र डीएपी मलको अभाव भएको हो।

    खेतीपातीको समय सुरु हुँदा पनि सरकारले पर्याप्त मात्रामा अनुदानको मल उपलब्ध गराउन सकेको छैन। विगतका वर्ष जस्तै यस वर्ष पनि दाङमा रासायनिक मलको अभाव देखिएको हो। यो अभाव लामो समयसम्म रहेमा यस वर्ष किसानहरूले खेतमा चाहिने आवश्यक रासायनिक मल पाउने सम्भावना छैन। तर कृषि सामग्री केन्द्रका अधिकारीहरूले भने मागअनुसारको आपूर्तिका लागि पहल भइरहेको र छिट्टै सहज हुने दाबी गरेका छन्। सहकारीहरूको माध्यमबाट किसानले मल पाउँछन्।

    कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले किसानको मागअनुसार आपूर्ति हुन नसक्दा बर्सेनि मलको अभाव हुने गरेको बताए। कृषि केन्द्रले बजार मूल्यभन्दा ७० प्रतिशत सस्तोमा मल बिक्री गर्ने भएकाले मलको माग अत्यधिक हुने गरेको उनले बताए। ‘किसानहरूको माग धेरै छ तर मल आपूर्ति थोरै हुन्छ, उनले भने– माग र आपूर्तिबीचको खाडल नपुरिँदासम्म यो समस्या यस्तै हो।’

    थोरै मल आवश्यक हुँदा पनि कृषक कृषि केन्द्रमा आउने गरेको उनी बताउँछन्। यस वर्ष सहज गराउने गरी प्रदेश कार्यालयमा माग गरिरहेको र ढुवानीको सहज भएका मल आपूर्ति पनि सहज हुने बताए।

    अहिले कृषि केन्द्रमा मल पूर्णरूपमा सकिएको छ। यस वर्षको धान खेतीका लागि कृषि सामग्री केन्द्र तुलसीपुरले २ हजार ३६.८० मेट्रिकटन युरिया बिक्री गरिसकेको छ। यस्तै २ हजार ४६ मेट्रिकटन डीएपी बिक्री भइसकेको छ। तर दाङमा ४० हजार मेट्रिकटन बर्सेनि आवश्यक हुन्छ। घोराहीले १५ सय १४ मेट्रिकटन युरिया र १४ सय २ मेट्रिकटन डीएपी मात्रै बिक्री गरेको छ।

    लमहीले १ हजार २३ मेट्रिकटन युरिया र ११ सय २९ डीएपी बिक्री गरेको छ। तुलसीपुर शाखाले छिमेकी जिल्ला सल्यान र घोराही शाखाले रुकुम जिल्लाको आपूर्ति पनि गर्छन्। लमही क्षेत्रमा अहिलेको मल पर्याप्त भए पनि अन्य क्षेत्रमा भने अभाव नै छ।
    जिल्लाका तीन शाखा कार्यालयबाट युरिया, डीएपी र पोटास गरेर ९ हजार ५ सय ४१.५०० मेट्रिकटन मल यस वर्ष जिल्लामा बिक्री भएको छ।

    साभार- अन्नपूर्णपोस्ट