संक्रमितका घरमै चिकित्सक
शिक्षाखबर डेस्क
४ असार २०७८, शुक्रबार
no immg

रुकुम पश्चिम / त्रिवेणी गाउँपालिका–३ सेतीपोखरीकी ४६ वर्षीया संक्रमित महिलाको घरमै पुगेर जिल्ला अस्पतालका डा.राजकुमार भुजेलले अक्सिजनको मात्रा नापे । अक्सिजनको मात्रा कम भएपछि उनलाई तत्काल जिल्ला अस्पताल पठाइयो । चौरजहारी नगरपालिका–१४ का एकै घरका आमा छोराले पनि घरमै स्वास्थ्य चेकजाँच गर्न पाए भने उनीहरूलाई घरमै औषधि दिइयो ।

डा. भुजेल नेतृत्वको टोली संक्रमित भेट्न जिल्लाका विभिन्न गाउँमा निस्किएको छ । संक्रमितको पछिल्लो अवस्थाबारे जानकारी लिन, परामर्श दिन र औषधि वितरण गर्न उनको टोली संक्रमितको घरघरै पुग्न थालेको हो । आवश्यक संक्रमितलाई अस्पतालमा पठाउने काम पनि भइरहेको उनले बताए । त्रिवेणी गाउँपालिका र चौतारा युवा क्लवको व्यवस्थापनमा ४३ जना संक्रमितले घरमै चिकित्सकीय सेवा पाएका छन् ।

‘परामर्श र सतर्कता अनपाउने विषयमा संक्रमितका परिवारलाई टिप्स दिएका छौं,’ डा. भुजेलले भने, ‘हाम्रो उपस्थितिले संक्रमितमा कोरोना जित्ने साहस बढेको छ ।’ अवस्था जटिल रहेकालाई अस्पताल पठाउन र सामान्य भएकालाई थप परामर्श दिन चिकित्सकको टोली गाउँमा पठाइएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक वीरबहादुर डाँगीले बताए । ‘मौसम पनि खराब हुँदै गयो, कतिपय संक्रमित उपचारको पर्खाइमा थिए,’ उनले भने, ‘एउटै गाउँमा धेरै संक्रमित भएपछि सबैलाई टाढाको अस्पताल लैजानुभन्दा डाक्टरलाई नै गाउँमा बोलाइएको हो ।’ दुई दिनसम्म संक्रमितका घरघर गएर चिकित्सकको टोलीले उनीहरूको अवस्थाबारे लिए । उनका अनुसार सबै संक्रमितलाई निःशुल्क औषधि वितरणको व्यवस्था मिलाइएको छ ।

घरमै पुगेर आनो स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि ३५ वर्षीय संक्रमित पुरुषले खुसी व्यक्त गरे । डाक्टरले उनलाई प्रयोग गरिरहेको औषधि घटाएर खान भनेका छन् । ‘घरमै बसेका थियौं, अवस्था के कस्तो छ, सुधार भो कि भएन भन्ने अन्यौलता भइरहेको थियो,’ उनले भने, ‘सुधार भइरहेको जानकारी पाइयो, अब कोरोना जित्ने मनोबल बढेको छ ।’

डा.भुजेलले समग्रमा संक्रमितको अवस्था ठिकै रहेको बताए । उनका अनुसार त्रिवेणीमा चारजना बाहेक अरु सबैको अवस्था ठिकै छ । उनले जटिल अवस्था देखिएका संक्रमितलाई अक्सिजनको मात्रा सुधार हुने गरी अस्पताल रेफर गरिएको जानकारी दिए । ‘कति जनाको औषधि फेर्नुपर्ने र केहीको औषधि घटाउनुपर्ने देखियो,’ उनले भने, ‘सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।’

प्रतिक्रिया