उपकुलपति डा. गिरीको उपस्थितिमा मात्र वार्तामा बस्ने स्वास्थ्यकर्मीको अडान
शिक्षाखबर डेस्क
८ असार २०७८, मंगलवार
no immg

आन्दोलनरत स्वास्थ्यकर्मीसँग वार्ता गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले समिति गठन गरेका छन् । काठमाडौंमा बसेका उनले शनिबार नै समिति बनाएको पत्र पठाएका थिए । तर, स्वास्थ्यकर्मीले उपकुलपतिको उपस्थितिमा मात्रै वार्ता गर्ने अडान लिएका छन् ।

प्रतिष्ठानका तर्फबाट शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनालको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरिएको हो । समितिमा अस्पतालका निर्देशक प्राडा गौरीशंकर साह र रजिस्ट्रार प्राडा मोहनचन्द्र रेग्मी सदस्य छन् । समितिले आइतबार वार्ता गर्ने बताएपनि पनि आन्दोलनरत स्वास्थ्यकर्मीले उपकुलपतिको उपस्थितिमा मात्र वार्ता गर्ने अडान लिएका छन् ।

संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले उपकुलपतिको सहभागिता नहुने वार्ताको औचित्य नहुने बताए । प्रतिष्ठानका चारैजना पदाधिकारीसहितको वार्तामा मात्र आफूहरू बस्ने उनले बताए । ‘कार्यान्वयन गर्ने व्यक्ति नै अनुपस्थित भएको वार्ता टोलीसँग वार्ता गरेर नतिजा नै राम्रो आउँदैन । यद्यपि, प्रशासनले गरेको वार्ताको पहलकदमीलाई हामीले सकारात्मक रूपमा लिएका छौँ,’ डा. पोखरेलले भने ।

बढेको तलब दिनुपर्ने, रोकिएको आन्तरिक बढुवा खुलाउनुपर्ने, जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, प्रतिष्ठानका आर्थिक कारोबार पारदर्शी हुनुपर्ने, सबै विभागको काम–कारबाहीबारे हरेक महिनाको शुक्रबार श्वेतपत्र जारी गर्नुपर्नेलगायतका ११ सूत्रीय मागसहित स्वास्थ्यकर्मीहरू सात दिनदेखि आन्दोलनमा छन् । उनीहरूले उपकुलपतिको प्राध्यापक उपाधिमाथि पनि प्रश्न उठाएका छन् ।

दन्तचिकित्सा तथा शिक्षक कल्याण समाजका निवर्तमान अध्यक्षसमेत रहेका डा. विष्णु पोखरेलले प्रतिष्ठानमा भइरहेको आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएपछि उपकुलपति डा. ज्ञानेन्द्र गिरीले ३० जेठमा उनलाई स्पष्टीकरण सोधेका थिए । बेथितिविरुद्ध आवाज उठाउँदा प्रशासनबाट कारबाहीको धम्कीसहित स्पष्टीकरण सोधिएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका थिए ।

चिकित्सक, नर्सहरूले आइतबार पनि उपकुलपतिको कार्यालयअगाडि धर्ना दिएका छन् । स्वास्थ्यकर्मीको आन्दोलनमा नागरिक समाजले पनि ऐक्यबद्धता जनाएको छ । धरान सरोकार समाज काठमाडौंका अध्यक्ष प्रभु श्रेष्ठले स्वास्थ्यकर्मीको आन्दोलनमा सहभागी भएर प्रतिष्ठान बचाउन नागरिक समाज एकजुट भएको बताए । स्वास्थ्यकर्मीहरूले अघि सारेका माग जायज भएकाले प्रतिष्ठानले पूरा गर्नुपर्ने उनले बताए । ‘प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीबारे हामी चाँडै प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण पनि गराउँछौँ,’ उनले भने ।

बिपी बचाउ नागरिक सञ्जालका संयोजक डा. राजेन्द्र शर्माले पनि आन्दोलनलाई सम्बोधन गरेका थिए । दन्तचिकित्सा तथा शिक्षक कल्याण समाजमा नवनिर्वाचित अध्यक्ष डा. अरुणकुमार सिंहले पनि चिकित्सकसहितका स्वास्थ्यकर्मीको माग सम्बोधन हुनुपर्ने बताए ।

प्रतिक्रिया