चिकित्सा शिक्षा आयोगदेखि विश्वविद्यालयसम्मले परीक्षा लिन थाले
शिक्षाखबर डेस्क
४ श्रावण २०७८, सोमबार
no immg

काठमाडौं / कोभिडको संक्रमण कम भएसँगै विभिन्न तहका परीक्षा धमाधम सञ्चालन हुँदै छन् । त्रिभुवन विश्वविद्यालयले भौतिक रूपमै परीक्षा सञ्चालनको तयारी गरेको छ । धेरै विद्यार्थी संख्या रहेको तीन र चारवर्षे बिएस्सी, बिबिएस, बिएड र बिए प्रथम वर्षको परीक्षा ११ साउनदेखि लिने तालिका सार्वजनिक गरेको छ । त्यसैगरी, कोभिडका कारण गत १३ वैशाखपछि स्थगित भएका परीक्षा ५ साउनदेखि सञ्चालन हुने तालिका सार्वजनिक गरेको छ । फाराम भरेको झन्डै दुई वर्षसम्म पनि प्रथम वर्षको परीक्षा दिन नपाएका साढे दुई लाख विद्यार्थी छन् । एउटा तह नै पार गर्नुपर्ने वेलामा प्रथम वर्षकै परीक्षा दिन नपाएकामा विद्यार्थी निराश र चिन्तित बन्न थालेका छन् ।

स्नातक तह दोस्रो वर्षको परीक्षा भइरहेको अवस्थामा कोभिड संक्रमण बढेपछि परीक्षा स्थगित भएको थियो । दोस्रो वर्षका बाँकी विषयको परीक्षा प्रथम वर्षको भन्दा पहिले नै ५ साउनबाट सुरु गर्ने त्रिविको तयारी छ । एउटै तहको एउटै वर्षमा पनि संकायअनुसारको अवस्था फरक छ । स्नातक तहमा व्यवस्थापन संकायको दोस्रो वर्षको परीक्षा सकिएको छ भने अन्य संकायका केही विषय बाँकी छन् । मानविकी तथा सामाजिकशास्त्र संकायका २७ विषयमध्ये चार विषयको परीक्षा बाँकी छ । त्यसैगरी, विज्ञानका तीन र शिक्षाशास्त्रका नियमिततर्फ एक तथा मौकातर्फका तीन विषय बाँकी छन् । अधिकांश विद्यार्थीका एक–एक विषय मात्र परीक्षा दिन बाँकी छ । सेमेस्टरतर्फका पनि परीक्षाको तयारी भएर स्थगित भएका थिए ।

त्रिविले १७ वैशाखदेखि स्नातकोत्तर तह तेस्रो सेमेस्टरका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, सिसिएमसीको १२ वैशाखको निर्णयअनुसार परीक्षा स्थगित भएका थिए । कोरोना भाइरस तीव्र रूपमा फैलिएपछि सिसिएमसीले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । चिकित्सा शिक्षा आयोगले पहिलोपटक चिकित्सा शिक्षाको स्नातक तहको एकीकृत प्रवेश परीक्षा लिँदै छ । काठमाडौं उपत्यकासहित धरान, चितवन, पोखरा र नेपालगन्जमा समेत एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने भएको छ । कोभिडका कारण जोखिम कम गर्ने उद्देश्यले आयोगले यस वर्ष उपत्यकाबाहिरसमेत परीक्षा केन्द्र कायम गरेको छ । जेठ दोस्रो सातादेखि एकीकृत प्रवेश परीक्षा लिने तयारी गरे पनि कोभिडको संक्रमण उच्चदरले फैलिएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । स्थगित प्रवेश परीक्षा आगामी ९ देखि १३ साउनसम्म सञ्चालन हुँदै छ ।

प्रतिक्रिया