एसइईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन निर्देशन
शिक्षाखबर डेस्क
४ श्रावण २०७८, सोमबार
no immg

काठमाडौं / काठमाडौं महानगरपालिकाले एसइईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन परिपत्र गरेको छ । महानगरको शिक्षा विभागले आइतबार सबै शैक्षिक संस्थालाई विद्यार्थी भर्ना तथा शुल्कबारे परिपत्र गरी एसइईको नतिजा नआउँदै भर्ना गरेमा कारबाही हुने चेतावनी दिएको हो । विभागले कक्षा ११ मा भर्ना हुँदाको समयमै ११ र १२ मा विद्यार्थीसँग लिइने कुल रकम तोक्नुपर्ने, किताब, पोसाक र अन्य शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा खरिद गर्न बाध्य नपार्न पनि सचेत गराएको छ ।

काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जारी गरेको परिपत्रमा कक्षा ११ र १२ मा विद्यार्थीलाई दिइने सेवा र विद्यार्थीहरूबाट लिने शुल्क कति हो त्यसका बारेमा १५ साउनभित्र विभागमा पेस गर्न भनिएको छ । मावि, कलेजहरूले तोकिएअनुसारको छात्रवृत्ति अनिवार्य दिनुपर्ने र छात्रवृत्ति पाउने विद्यार्थीको विवरण शैक्षिक सत्र सुरु भएको दुई महिनाभित्र विभागमा पठाउनसमेत भनिएको छ । सञ्चारमाध्यममा भर्नाका विषयमा समाचार आएपछि महानगरले यस्तो परिपत्र गरेको हो ।

शिक्षा ऐन र नियमावलीअनुसार तल्लो कक्षा उत्तीर्ण नभईकन माथिल्लो कक्षामा भर्ना लिन पाइँदैन । तर, पछि विद्यार्थीलाई ‘होल्ड’ गर्न सीधै भर्ना नभनेर प्रि–रजिस्ट्रेसनका नाममा भर्ना गरिरहेका छन् । काठमाडौंको ग्लोबल कलेज अफ एसोसिएट्सअन्तर्गतको ग्लोबल स्कुल अफ साइन्स म्यानेजमेन्टले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको तस्बिर राखेर प्रि–रजिस्ट्रेसनको आह्वान गरेको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्टले समेत प्रि–रजिस्ट्रेसन शैक्षिक सत्र ०७८/७९ को भर्ना गरिरहेको छ । त्यसैगरी, गोल्डेनगेट इन्टरनेसनल कलेज, जेभिएर इन्टरनेसनल कलेज, नोबेल एकेडेमी, हिमालयन ह्वाइटहाउसलगायतका शैक्षिक संस्थाले प्रि–रजिस्ट्रेसनका नाममा भर्ना गरिरहेका छन् । कतिपयले वेबसाइटमा प्रवेश परीक्षाको तयारीको जानकारी गराएका छन् । अधिकांशले विभिन्न माध्यममा विज्ञापनसमेत गरेका छन् ।

प्रतिक्रिया