विद्यालयमासमेत राजनीतिक पहुँचका आधारमा बजेट वितरण
शिक्षाखबर डेस्क
५ श्रावण २०७८, मंगलवार
no immg

जाजरकोट / विद्यालयमासमेत राजनीतिक पहुँचका आधारमा बजेट वितरण हुँदा त्यसले समग्र शिक्षा क्षेत्रको विकासमा असर पार्ने गरेको सरोकारवालाले बताएका छन् । उनीहरुले विद्यालयमा राजनीति नगर्न आग्रहसमेत गरेका छन् ।
सोमबार जिल्लाको छेडागाड नगरपालिकास्तरीय भर्चुअल शिक्षा संवाद कार्यक्रममा नारायण माविकी विद्यालय व्यवस्थापन समिति सदस्य लाली आरसीले भनिन्, ‘विद्यालयमा राजनीति गर्नु राम्रो होइन, तर यहाँका विद्यालय राजनीतिका अखडा भएका छन् ।’ उनले विद्यालयप्रति अभिभावकको चासो पनि कम हुँदै गएको बताइन् ।
शिक्षा पत्रकार समूह र सेभ द चिल्ड्रेनको सहकार्यमा आयोजित कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख खड्क केसीले नगरभित्रका शैक्षिक संरचनालाई दीगो बनाउन पहल गरिए पनि बजेट, भौगोलिक कठिनाइजस्ता कारणले चुनौती थपिएको बताए । उनका अनुसार हाल नगर क्षेत्रमा १ सय ७ बालविकास केन्द्र र ८९ वटा विद्यालय छन् ।
अधिकांशको भौतिक संरचना कमजोर हुनुका साथै जनशक्ति अभाव पनि रहेको छ । सेभ द चिल्ड्रेनका शिक्षा संयोजक आत्माराम भट्टराईले भौतिक संरचनाको निर्माणमात्र शिक्षाको गुणस्तर बढाउने सूचक नभएको भन्दै साझेदारी, पैरवी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, राजनीतिक दलको इच्छाशक्तिले गुणस्तर अभिवृद्धि गर्न सकिने बताए । उनले सेभ द चिल्ड्रेनका सहयोगमा छेडागाड नगरपालिकामा ७ जना अपांगता भएका बालबालिकालाई घरमै राखेर पढ्ने वातावरण मिलाइएको बताए ।

प्रतिक्रिया