स्वास्थ्यमा प्राविधिक सचिव नियुक्त
शिक्षाखबर डेस्क
५ श्रावण २०७८, मंगलवार
no immg

काठमाडौँ — सोमबार सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फबाट लामो समयदेखि रिक्त सचिवको नियुक्ति गरेको छ । ।१२ औं तहमा कार्यरत डा. रोशन पोखरेललाई स्वास्थ्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा प्राविधिक सचिव नियुक्त गरेको हो ।

स्वास्थ्य सचिव नियुक्तिका लागि आजै बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२ औँ तहका प्रमुख विशेषज्ञहरु डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।

स्वास्थ्य सचिव नियुक्त भएका डा. पोखरेलले खोप प्राप्त गर्नु नै आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । पछिल्लो समय खोप प्राप्तिका लागि विश्वका विभिन्न कम्पनीहरुसँग छलफल तथा समन्वय गर्ने जिम्मा पाएका उनले कोरोनाविरुद्ध लडाइँमा खोपको भूमिका महत्वपूर्ण हुने बताए । स्वास्थ्य सचिवमा नियुक्त भएका डा. पोखरेल कुशल मनोचिकित्सक समेत हुन् ।

डा. पुष्पा चौधरीलाई २०७५ मंसिर १७ गते तत्कालिन सरकारले प्रधानमन्त्री कार्यालयमा तानेसँगै स्वास्थ्यमा प्राविधिक सचिवको पदलाई लिएर विवाद सुरु भएको थियो । डा. चौधरीले २०७६ पुस २१ गते राजीनामा दिएसँगै उक्त पद रिक्त भएको थियो । हाल प्रशासनतर्फबाट लक्ष्मण अर्याल सचिव रहेका छन् ।

कोरोनाको महामारीमा प्राविधिक स्वास्थ्य सचिवको दरबन्दीलाई खाली राखेर प्रशासनतर्फका सचिवलाई काम लगाएको भनेर पनि ओली सरकारको आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया