काठमाडौँ / कोरोना संक्रमण बढ्दै गएकाले कक्षा १२ सहित सबै परीक्षा तत्काल रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तस्बिर : बिजु महर्जन/कान्तिपुर
स्वास्थ्य मन्त्रालयले विज्ञहरूसँगको छलफलपछि परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने सिफारिस गरेको हो । मृत्युदर १.५ प्रतिशत पुगेको र संक्रमण दर पनि बढ्दै गएकाले परीक्षा सञ्चालन गर्न नहुने अडान स्वास्थ्य मन्त्रालयले लिएको हो ।
विभिन्न विश्वविद्यालय, कक्षा ११, सीटीईभीटीलगायतका परीक्षा भइरहेकाले मन्त्रालयले सबै खाले परीक्षा रोक्न भनेको छ । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भने, ‘संक्रमण बढिरहेको छ, यो अवस्थामा परीक्षा लिनु उपयुक्त देखिँदैन ।’
यसै विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच समेत छलफल भएको थियो । प्रधानमन्त्री देउवाले समेत अवस्था सामान्य भएपछि र २० वर्षमुनिका किशोर–किशोरीले खोप पाएपछि मात्र परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने धारणा राखेको मन्त्रालय स्रोतले बतायो । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि विद्यार्थीलाई खोप लगाएर, स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर मात्र परीक्षा सञ्चालन गर्न सरकारलाई सुझाव दिएको थियो । विद्यार्थी संगठनले पनि परीक्षा अनुकूल समयमा सार्न माग गरेका छन् । परीक्षा स्थगितको माग गर्दै विद्यार्थी, अभिभावकले सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।
राज्यमन्त्री श्रेष्ठले कोरोना बढिरहेकाले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई सिफारिस गरेको ट्वीटमार्फत सार्वजनिक गरेका छन् । सीसीएमसीको अनुमतिमा कक्षा १२ को जेठमा स्थगित परीक्षा साउन ३१ देखि सञ्चालन गर्ने तय भएको थियो । करिब ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षा तयारीमा छन् ।
राष्ट्रिय परीक्षा बोर्डका एक सदस्यका अनुसार शनिबार बोर्डले निर्णय लिनेछ । स्वास्थ्य मन्त्रालयले सीसीएमसी र शिक्षा मन्त्रालयलाई गरेको सिफारिसपछि टुंगोमा पुग्नका लागि निर्णय गर्न शनिबार ११ बजे बोर्डको बैठक डाकिएको ती सदस्यले जानकारी दिए ।