अनलाइन कक्षा र अवैध नियन्त्रण प्रणालीले मोबाइल आयात दोब्बर
शिक्षाखबर डेस्क
२६ श्रावण २०७८, मंगलवार
no immg

काठमाडौँ / भन्सार चोरीका मोबाइल ल्याउने क्रम रोकिएको र अनलाइन कक्षा सञ्चालनलगायत कारण औपचारिक माध्यमबाट हुने आयात दोब्बर पुगेको छ । कोभिड–१९ का कारण भारतसँगको खुला सीमा बन्द भएकाले भन्सार चोरीका मोबाइल फोन आउने क्रम यति बेला रोकिएकाले आयात बढेको भन्सार विभागको तथ्यांकले पनि पुष्टि गर्छ ।

आर्थिक वर्ष २०७५/७६ मा १९ अर्ब २७ करोड ६९ लाख ९६ हजार रुपैयाँ बराबरका ४२ लाख ७५ हजार ५ सय १८ थान मोबाइल फोन आयात बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा भने ३६ अर्ब ९० करोड ४५ लाख ८४ रुपैयाँ बराबरको ७० लाख ३० हजार ३ सय थान भित्रिएको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७६/७७ मा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रुपैयाँ बराबरको ४३ लाख ६५ हजार ९ सय ९० थान मोबाइल फोन भित्रिएको छ ।

यी मोबाइल फोन अफगानिस्तान, अस्ट्रेलिया, अस्ट्रिया, बहराइन, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, फिनल्यान्ड, जापान, मलेसियालगायत मुलुकबाट आउने गरेका छन् । यसबाट विभागले आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब ५२ करोड ४९ लाख ९४ हजार राजस्व उठाएको छ । आर्थिक वर्ष २०७६/७७ मा भने २ अर्ब ८७ करोड ९१ लाख ४२ हजार र २०७७/७८ मा ५ अर्ब ८४ करोड ९ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । विभागका सूचना अधिकारी शिशिर घिमिरेले भने पछिल्लो समय विद्यालय एवं कलेजहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेको र त्यसका लागि स्मार्टफोन आवश्यक पर्ने भएकाले मोबाइल आयात बढेको बताए । ‘भन्सार चोरी भएर आउने मोबाइलको संख्या पहिला पनि त्यति धेरैचाहिँ थिएन,’ उनले भने, ‘कोभिडअघि व्यक्तिहरू सीमापारि गएर एक–दुई थान मोबाइल ल्याउने गरेका थिए । त्यो भने रोकिएको हो ।’ गत वर्षको तुलनामा ६० प्रतिशत मोबाइल आयात बढेको उनले जानकारी दिए ।

प्रतिक्रिया