सिरहा / मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले विद्यालयको बक्यौता शुल्क भुक्तानमा ढिलाई गरेको भन्दै एक विद्यार्थीकाे परिवारमाथि कुटपिट गरेका छन् । मिर्चैया नगरपालिका १० मा मथलेश्वरमा रहेको राजदेवी इग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले विद्यालयको शुल्क तिर्न ढिलाई गरेको भन्दै विद्यार्थीका अभिभावक सहित परिवारका अन्य सदस्यमाथि कुटपिट गरेका हुन् । उक्त विद्यालयको युकेजी कक्षामा अध्ययनरत नविन कुमार साहको अभिभावकमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले प्रिन्सिपल साहले विद्यार्थीका बुबा अशोक, आमा सुनितादेवी, दिदीहरु सरिता र अंजलीमाथि कुटपिट गरेकाे जनाइएको छ । विद्यालयको बक्यौता रहेको करिब ५–६ हजार रुपैयाँ भुक्तानी गर्न ढिलाई हुँदा कुटपिट गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र श्रेष्ठले बताए ।
घटना यसरी भयो
मिर्चैया नगरपालिका १० मथलेश्वर बजारमा पान पसल सञ्चालन गर्दै आएका अशोकसँग रकम माग्न पसलमै प्रिन्सिपल साह पुगेका थिए । लकडाउन कारणले आर्थिक समस्या भएकोले विद्यालयको शुल्क दिन ढिलाई भएको अशोकले प्रिन्सिपलसँग अप्ठ्यारा सुनाए । प्रिन्सिपल साहले अहिले नै पैसा दिनुपर्छ भन्दै अपशब्द प्रयोग गर्दै कुटपिटमा उत्रेको पीडित पक्षको भनाई छ ।
कुटपिट भइरहेको देखेपछि घरपरिवारका अन्य सदस्यले छुटाउन पुगेका थिए । अशोकको पत्नी सुनितादेवि, जेठी छोरी सरिता र माइँली छोरी अञ्जली छुटाउन पुग्दा प्रिन्सिपल साह उनीहरुमाथि पनि जाई लागेका थिए । त्यसक्रममा कुटपिटबाट अशोक र उनकी छोरी सरिता गम्भीर घाइते भएकी छिन् । अशोकको टाउकोमा चोट लागेको छ भने छोरी सरिताको हात भाँच्चिएको र टाउको पनि फुटेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्रेष्ठले बताए । गम्भीर घाइते भएका दुवै जनालाई मिर्चैयामा प्राथमिक उपचारपछि थप उपचार गर्न विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेहरुको उपचार मिर्चैयामै भइरहेको छ ।यता कुटपिटमा संलग्न प्रिन्सिपल साह फरार भएका छन् । मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रेष्ठले कुटपिटमा संलग्न प्रिन्सिपल साहको खोजीकार्य भइरहेको बताए ।