विद्यालयमै थन्कियो चीनले दिएको कृषि उपरकण
शिक्षाखबर डेस्क
२७ श्रावण २०७८, बुधबार
no immg

जोमसोम / उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका किसानलाई लक्षित गरी छिमेकी देश चिनले उपलब्ध गराएको यान्त्रिक कृषि उपकरण विगत एकवर्षदेखि लोमान्थाङको एक विद्यालयमा नै थन्किएको छ। सीमावर्ती क्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापा अन्तर्गतका किसानलाई चिनले ‘एक घरधुरी एक उपकरण’ स्वरुप ६ सय ५० थान घासा काट्ने यान्त्रिक उपकरण (रिफर) उपलब्ध गराएको थियो।

चीनको स्वशासित क्षेत्र तिब्बतले उपल्लो मुस्ताङको दुई स्थानीयतहलाई यान्त्रिक कृषि उपकरण हस्तान्तरण गराएको थियो। उपकरण हस्तान्तरणपछि लोघेरक दामोदरकुण्ड पालिकाले सम्बन्धित किसानलाई कार्ययोजना बनाएर किसानलाई वितरण गरिसकेको छ। तर लोमान्थाङले भने प्राप्त उपकरण किसानलाई वितरण नगरी विद्यालयमा राखेको छ।

लोमान्थाङ गापाले पालिकाको छोसेर स्थित दिव्यदीप माविको प्रोग्राम हलमा आफ्नो भागमा परेको ३ सय २५ थान घास काट्ने उपकरण राखेको थियो। कोरोना संक्रमणको पहिलो लहरको बेला सो विद्यालयको शैक्षिक पठन-पाठन बन्द समेत बन्द रहेकाले प्राप्त चिनिया उपकरण विद्यालयमा थन्क्याएको थियो। पालिकाले एक वर्षदेखि थन्क्याएको कृषि उपकरण कृषकलाई वितरण नगरी विद्यालय हातामै राखेको छ।

उपल्लो मुस्ताङमा चालु नयाँ शैक्षिक सत्र असारदेखि सुरु भएको छ। शैक्षिक सत्रसँगै दिव्यदीप माविमा भौतिक रुपमै कक्षा सञ्चालन भइरहेको छ। पालिकाले जिम्मा लिएको चिनियाँ यान्त्रिक उपकरण कुनै शुल्क नदिइ विद्यालयमै थन्क्याइएको सो विद्यालयका शिक्षक कर्मा वाङ्गेल गुरुङले जानकारी दिए। चिनियाँ राहत सामाग्री लामो समयदेखि विद्यालयको प्रोग्राम हलमा थन्क्याइएकाले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नमा अप्ठ्यारो परेको शिक्षक वाङ्गेलले फेसबुकमा लेखेका छन्। उनले विद्यालयमा राखिएको उपकरण छिटोभन्दा छिटो किसानलाई वितरण गरी विद्यालयको अतिरिक्त क्रियाकलापलाई सहज गराईदिन समेत पालिका समक्ष अनुरोध गरेका छन्।

चिनले एक वर्षअघि सीमावर्ती क्षेत्रका प्रत्येक घरधुरीलाई पुग्ने गरी घास काट्ने यान्त्रिक कृषि उपकरण दिएको थियो । लोमान्थाङ—५ का वडाध्यक्ष हिन्जिन धोर्जे विष्टले चिनले उपल्लो गराएको उपकरण प्राविधिक समस्याका कारण किसानलाई वितरण गर्न नसकेको बताए। उनले गत वर्ष विद्यालय बन्द रहेकाले अनुकुल समय मिलाएर वितरण गर्ने गरी विद्यालयमा व्यवस्थापन गरिएको उल्लेख गरे। विद्यालयमा लामो समयदेखि थन्क्याएको चिनियाँ उपकरण यार्तुङ पर्व सकेर घासा काट्ने महिनामा वितरण गर्ने जानकारी दिए।

उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका स्थानीयलाई बर्सेनि विभिन्न राहत सामाग्री सहयोग गर्दै आइरहेको छ। सीमावर्ती क्षेत्रका बासिन्दासँग प्रगाढ सम्बन्ध विस्तार गर्ने उद्देश्यले चिनले पटक-पटक राहत उपलब्ध गराउने गरेको छ। कोरोना माहामारी अवस्थामा चिनले पटक-पटक कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री र खाद्यान्न लगायतका सामाग्री उपलब्ध गराएको थियो। यस्तै श्रावणको पहिलो हप्तामा लोमान्थाङका पालिकाका प्रत्येक घरधुरीले लाखौं मुल्य बराबरको राहत सामाग्री दिएको थियो।

प्रतिक्रिया