काठमाडौँ /राष्ट्रिय सभा सदस्य उदय शर्मा पौड्यालले पूर्व तयारीबिना राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गरेको बताइन् । उनले परीक्षा एकाएक स्थगित हुँदा विद्यार्थीको मनोविज्ञानमा असर परेको बताइन् । विस्तृत अध्ययनबिना हठातमा परीक्षा स्थगन गर्न नहुने उनको तर्क छ ।
त्यस्तै कोमल वलीले अहिलेसम्म शिक्षा मन्त्री नियुक्ति नहुनुले ४ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताइन् । उनले शिक्षामन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरिन् ।‘भागबन्डा नमिलेर हो कि शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेको छ । ४ लाख बढी विद्यार्थीहरुले परीक्षामा बस्न पाएका छैनन् । उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन् उनीहरुको भविष्य अन्धकार छ । त्यसकारण हेल्थ प्रिकसन प्रयोग गरेर हुन्छ कि, सबै विद्यार्थीहरुलाई खोप उपलब्ध गराएर हुन्छ, अल्टनेटिभ वेबाट भए पनि परीक्षा दिने व्यवस्था होस् माग गर्न चाहन्छु, ती विद्यार्थीको भविष्यलाई ध्यान दिइओस्,’ उनले भनिन् ।
त्यस्तै तारादेवी भट्टले कञ्चनपुरको भीमदत्त नगरपालिकामा मनलाग्दी शिक्षक नियुक्ति र सरुवा कार्य भइरहेको बताए । उनले शिक्षक संघले अनशन बसेको २५ दिन पुग्दासमेत सरोकारवाला निकायको ध्यान नगएको भन्दै त्यसको सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए । ‘भीमदत्त नगरपालिका कञ्चनपुरको नगरशिक्षा समितिले दरबन्दी मिलानको नाममा दरबन्दी मिलान कार्यविधि २०७६ को नीतिविपरीत र नगरपालिकाले आफैले बनाएको कार्यदल संवाद समितिले दिएको प्रतिवेदनविपरीत छानिछानी शिक्षकसँग आबद्ध शिक्षकहरुलाई दुःख दिने नियतले सरुवा गर्ने, आफ्ना निकट व्यक्तिलाई नजिक ल्याउने, विद्यालय स्वीकृत गर्ने नाममा मापदण्ड नराखी बनाउनेविरुद्धमा शिक्षक संघले अनसन बसेको २४,२५ दिन हुँदा कुनै सुनुवाइ नगरेकोले समस्या समाधानमा कुनै चासो नदेखाएको हुँदा सोको सत्यतथ्य बुझी दुर्घटना हुन नदिन अनुरोध गर्दछु ।’
उनले नगरपालिकाले बनाएको कार्यदल संवाद समितिले दिएको प्रतिवेदनविपरीत छानिछानी शिक्षकलाई दुःख दिने गरेको आरोप समेत लगाए ।