२ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले अनलाइन कक्षा पढाए बापत विद्यालयहरूले लिन पाउने शुल्क निर्धारण गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गइरहेको बेला अनलाइन कक्षा नै सञ्चालन गर्नु परेको अवस्थामा महानगरले पहिलो पटक अनलाइन कक्षाको शुल्क निर्धारण गरेको हो ।
महानगरले काठमाडाैँ महानगरपालिका भित्र सञ्चालित विद्यालयलाई ‘क’, ‘ख’ र ‘ग’ तीन वर्गमा विभाजन गरेर शुल्क निर्धारण गरेको छ । अब विद्यालयहरूले अभिभावकबाट तोकिएको भन्दा बढी शुल्क लिन नपाउने महानगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदी जानकारी दिएका छन् ।
महानगरले ‘क’ वर्गका निजी विद्यालयले कक्षा १ देखि ५ सम्म २ हजार ५०० रुपैयाँ, ६ देखि ८ सम्म ३ हजार रुपैयाँ तथा ९ र १० कक्षामा मासिक ४ हजार २०० रुपैयाँ लिन पाउँने बताएको छ ।
त्यसैगरी, ख’ वर्गका निजी विद्यालयले १ देखि ५ कक्षासम्म २ हजार २०० रुपैयाँ, ६ देखि ८ सम्म मासिक २ हजार ५०० रुपैयाँ, र ९ र १० कक्षामा मासिक ३ हजार ६०० रुपैयाँ लिन पाउने छन् ।
त्यस्तै, ‘ग’ वर्गका निजी विद्यालयले कक्षा १ देखि ५ सम्म मासिक शिक्षण शुल्क १ हजार ८०० रुपैयाँ, ६ देखि ८ सम्म २ हजार २०० रुपैयाँ र ९ र १० कक्षा मासिक मासिक ३ हजार रुपैयाँ लिन पाउने महानगरले तोकिदिएको छ ।
गत साउन २१ गते भएको महानगरपालिकाको बैठकले शुल्क निर्धारण गर्ने निर्णय गरेको हो । पछिल्लो समय अभिभावकहरूले विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेबापत लिने शुल्कबारे गुनासो गरिरहेका थिए ।