काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउने भएको छ ।
महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोप दिन लागेको हो ।
आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ । महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुने छ ।
कहाँ-कहाँबाट लगाउने खोप ?
सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लिन पाइनेछ ।