खुलेको एक महिनामै बन्द भए विद्यालय
शिक्षाखबर डेस्क
१३ भाद्र २०७८, आईतवार
no immg

बैतडी  । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीको मेलौली नगरपालिकाका विद्यालय एक महिनामै बन्द भएको छ । गत साउन १० गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गरेको नगरपालिकाले अर्को सूचना नभए सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका केही व्यक्तिमा सङ्क्रमण देखिएकाले सङ्क्रमण नफैलियोस् भन्नका लागि विद्यालय बन्द गर्ने निर्णय भएको मेलौली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश भट्टले जानकारी दिए । सङ्क्रमणको जोखिम बढ्दै गएकाले अर्को सूचना नभएसम्मका लागि भौतिक उपस्थितिमै सञ्चालनमा रहेका विद्यालय बन्द गरिएका छन् ।

चाडपर्वको समय नजिक आएको, विदेशबाट घर फर्किने नागरिकको सङ्ख्या पनि बढ्दै गएकाले सङ्क्रमणको जोखिम बढ्दै गएको नगरपालिकले जनाएको छ ।

यस्तै नगरपालिकाले वैकल्पिक शिक्षणका उपायद्वारा शिक्षण सिकाइलाई अगाडि बढाउन आग्रह गरेको छ । अभिभावकमा कोरोना सङ्क्रमण पुष्टि भएकाले विद्यार्थी सिकाइ सकजीकरण निर्देशिका, २०७७ अनुरुप वैकल्पिक तथा रचनात्मक विधिमार्फत कक्षा सञ्चालन गरिने जनाइएको छ ।

मेलौली नगरपालिकाले यसअघि गत साउनमा नगरक्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या शून्य रहेकाले विद्यालय सञ्चालनमा ल्याएको थियो । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले पनि यसअघि सबै स्थानीय तहलाई विद्यालय सञ्चालन नगर्न तथा सञ्चालनमा रहेका विद्यालय बन्द गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया