बजेटको प्रतिस्थापन विधेयक : शिक्षा क्षेत्रका यी विषयहरू समेटिए
शिक्षाखबर डेस्क
२६ भाद्र २०७८, शनिबार
no immg

२६ भदाै, काठमाडाैँ । सरकारले चालु खर्चतर्फ रहेका सबै बैठक भत्ता कटौती गरेर त्यसबाट प्राप्त हुने रु पाँच अर्ब बराबरको बजेट कोरोना खोप खरिदका लागि उपयोग गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेता तालिम र गोष्ठीसम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन खर्च, भ्रमण खर्च, विविधि कार्यक्रम खर्च शीर्षकमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरिएको उल्लेख गरे । त्यसबापत प्राप्त हुने रु पाँच अर्ब बराबरको रकम खोप खरिदमा उपयोग गर्न लागिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।

गत जेठ १५ गते तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेट आजदेखि प्रतिस्थापन भएको छ । तत्कालीन सरकारले सङ्घीय संसद्को अधिवेशन बोलाउने तयारी भइरहेका बेला गत जेठ ११ गते प्रतिनिधिसभा विघटन गरेको थियो । बजेटमा राजनीति नहोस् भन्ने उद्देश्यले संविधानमा नै बजेट मिति उल्लेख भए पनि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत बजेट ल्याएका थिए ।

सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिस्थापन बजेटमा शिक्षा क्षेत्रका बारेमा पनि विभिन्न कार्यक्रहरू समेटेको छ । बजेटमा शिक्षाको गुणस्तर सुधार गर्ने, कक्षा १२ सम्मका विद्यार्थीलाई “पढ्दै कमाउँदै कार्यक्रम” सबै प्रदेशमा सुरू गर्ने, विश्वविद्यालयहरूलाई पूर्वाधार विकास सहित अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लगायतका बुँदा समेटिएका छन् ।

सरकारले प्रतिस्थापन बजेटमा शिक्षा सम्बन्धि निम्न कार्यक्रमहरू समावेश गरेको छ । 

१. सक्षम जनशक्ति उत्पादन गर्न प्रविधिमा पहुँच अभिवृद्धि गर्दै शिक्षाको गुणस्तर सुधार गर्न प्रत्येक प्रदेशमा कम्तिमा एउटा शैक्षिक उष्कृटता केन्द्र स्थापना गरिनेछ। यसले गुणस्तरीय शैक्षिक सामाग्री र पाठयक्रम समेत उत्पादन गरि विद्युतीय माध्यमद्वारा प्रदेश भरिका सार्वजनिक विद्यालयहरूमा उपलब्ध गराउने प्रबन्ध गरेको छु।

२. गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, पूर्वाधार, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवम् विद्यार्थी संख्यासमेतका आधारमा बालशिक्षा देखि माध्यमिक शिक्षासम्मको नक्शाङ्कन तयार गरी कार्यान्वयन गरिनेछ। भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको विकास गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विस्तृत योजना बनाई कार्यान्वयन गरिनेछ। प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मको विद्यार्थीलाई “पढ्दै कमाउँदै कार्यक्रम” सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिनेछ।

३. शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिनेछ।

४. विश्वविद्यालयहरूलाई पूर्वाधार विकास सहित अनुसन्धान केन्द्रको रुपमा विकास गरिनेछ। मुलुकको सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रवन्ध गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर