११ कार्तिक, काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हालै चिकित्सा शिक्षा अध्ययन संस्थान महराजगङ्जले गरेको शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै कुनै पनि बाहानामा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी हुने गरी विद्यार्थीबाट शुल्क उठाउन नमिल्ने भन्दै फिर्ता लिन माग गरेको हो ।
आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएका सबै शैक्षिक संस्थालाई अविलम्ब कारवाहीसहित बढी लिएको रकम सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न पनि अनेरास्ववियुका अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शुल्क वृद्धिको सम्बन्धमा पर्याप्त प्रमाणसहित विद्यार्थीले पटकपटक चिकित्सा शिक्षा आयोग, डीन कार्यालयलगायत सरोकारवाला निकायमा छानविन र कारबाहीका लागि निवेदन पेश गर्दा पनि उक्त कार्यको अनुगमन र दोषीलाई कारवाही नभएको पनि विज्ञप्तिमा भनिएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जले यही कात्तिक ७ गते आयोगले निर्धारण गरेको शुल्कविपरीत विद्यार्थीलाई बढी आर्थिकभार पर्ने र निजी शैक्षिक संस्था सञ्चालकलाई फाइदा पुग्ने गरी अत्यधिकमात्रामा शुल्क वृद्घि गरेको हो ।