१२ कार्तिक, धनुषा । सिके राउतका कार्यकर्ताले एक प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेका छन् । जनकारबाही भन्दै ती कार्यकर्ताले धनुषाको फकिर चन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई कालोमोसो दलेका हुन् ।
सो विद्यालयमा सिके राउत नेतृत्वको विद्यार्थी संगठनले विगत चार दिनदेखि विभिन्न माग राखेर आन्दोलन गरिरहेको थियो । विद्यार्थी संगठनको आन्दोलनकैबीच मोटरसाइकलमा गइरहेका प्रधानाध्यापकमाथि कालोमोसो दलेका हुन् ।
नियमित पठन-पाठन हुनुपर्ने र शिक्षकको व्यवस्थापन हुनुपर्ने, शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीले पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरूले पुस्तक पाउनुपर्ने, विद्यालयका नाममा आएका सामग्रीहरू विद्यालयमा राख्नुपर्ने जस्ता विषयहरूमा निर्णय लिनुपर्ने माग राख्दै कार्यकर्ताहरूले आन्दोलन गर्दै आएका थिए ।